नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदबाट हटाइएका दानबहादुर कार्कीलाई सर्वोच्च अदालतले न्याय दिने विश्वास नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले व्यक्त गरेका छन्। शनिबार काठमाडौंमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले आइजिपी हटाउने सरकारको निर्णयबाट कार्कीमाथि चरम अन्याय भएको आरोप लगाए।
आइजिपीसम्बन्धी विवाद अहिले सर्वोच्च अदालतमा पुगेको अवस्था रहेको उल्लेख गर्दै संयोजक दाहालले आफूलाई अदालतबाट न्याय हुने पूर्ण विश्वास रहेको बताए। कार्कीलाई पदमुक्त गरिएको विषयमा सरकारको कदमलाई उनले जायज ठहर गरेनन् र यसलाई अन्यायपूर्ण भने।
यसै अवसरमा उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि पोखे। सरकारले जनताका वास्तविक समस्या सम्बोधन गर्नुका सट्टा झिलिमिली कार्यक्रममा मात्रै ध्यान दिइरहेको उनको भनाइ छ।
दलहरूसँग संवाद जारी
सरकारको स्वेच्छाचारिताप्रति खबरदारी गर्न तथा आन्दोलनको वातावरण निर्माण गर्न प्रमुख राजनीतिक दलहरूसँग संवाद भइरहेको संयोजक दाहालले जानकारी दिए। पार्टी अहिले राष्ट्रिय जागरण अभियानमा केन्द्रित रहेको र अभियान सकिएपछि समीक्षा गरेर आगामी आन्दोलनको ठोस योजना बनाइने उनले बताए।
संविधान निर्माण र शान्ति प्रक्रियामा सँगै रहेका शक्तिहरूलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको पनि उनले उल्लेख गरे। एमालेसँग मात्र नभई कांग्रेसमतितर अन्य दलहरूसँग पनि संवाद चलिरहेको बताउँदै दाहालले हिजोको संविधान निर्माण र शान्ति प्रक्रियामा सहभागी सबै शक्तिहरूलाई जोडेर अघि बढ्नुपर्ने पार्टीको बुझाइ रहेको स्पष्ट पारे।







