विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ अन्तर्गत पहिलो सेमिफाइनल खेल सुरु भएको छ । अमेरिकाको टेक्सास राज्यमा अवस्थित डलास स्टेडियममा फ्रान्स र स्पेन फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गरिरहेका छन् । यो खेल जित्ने टोलीले उपाधि भिडन्तको यात्रा तय गर्नेछ ।
लगातार तेस्रो फाइनलको खोजीमा फ्रान्स
फ्रान्स लगातार तेस्रोपटक विश्वकपको फाइनलमा पुग्ने ऐतिहासिक दाउमा छ । यसअघिका दुई संस्करणमा फाइनल पुगिसकेको फ्रान्सले यसपटक पनि आफ्नो बलियो उपस्थिति देखाएको छ । जारी प्रतियोगितामा फ्रान्सको यात्रा निकै उत्कृष्ट रहेको छ । समूह चरणको खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोलले, इराकलाई ३–० गोलले र नर्वेलाई ४–१ गोलको फराकिलो अन्तरले पाखा लगाउँदै समूह विजेता बनेको थियो ।
नकआउट चरणमा पनि फ्रान्सले आफ्नो अपराजित यात्रालाई निरन्तरता दियो । अन्तिम ३२ को खेलमा स्वीडेनलाई ३–० ले पराजित गरेको फ्रान्सले अन्तिम १६ मा पाराग्वेमाथि १–० को कठिन जित निकाल्यो । त्यसैगरी, सेमिफाइनलमा स्थान सुरक्षित गर्नका लागि क्वाटरफाइनलमा मोरक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै फ्रान्सले अन्तिम चारमा स्थान बनाएको हो ।
१६ वर्षपछि उपाधि नजिक पुग्ने स्पेनको दाउ
अर्कोतर्फ, स्पेन सन् २०१० को विश्वकप उपाधि जितेपछि पहिलोपटक विश्वविजेता बन्ने लक्ष्यका साथ मैदानमा छ । स्पेनको यस विश्वकपको सुरुआत भने सोचेजस्तो सहज हुन सकेको थिएन । आफ्नो पहिलो खेलमा पहिलोपटक विश्वकप खेलिरहेको केप भेर्डेसँग गोलरहित बराबरीमा रोकिएपछि स्पेनको क्षमतामाथि विभिन्न प्रश्न उठेका थिए ।
तर, त्यसपछिका खेलहरूमा स्पेनले उत्कृष्ट पुनरागमन गर्यो । दोस्रो खेलमा साउदी अरेबियालाई ४–० को फराकिलो अन्तरले हराएको स्पेनले समूहको अन्तिम खेलमा उरुग्वेलाई १–० ले पराजित गर्दै समूह विजेता बन्न सफल भयो । अन्तिम ३२ को खेलमा अस्ट्रियालाई ३–० ले हराएको स्पेनले अन्तिम १६ मा छिमेकी राष्ट्र पोर्चुगललाई १–० को नतिजामा पन्छायो । सेमिफाइनलको टिकट काट्नुअघि क्वाटरफाइनलमा स्पेनले बलियो प्रतिद्वन्द्वी बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।





