नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिको नाम दर्ता सानेपामा सुरु भएको छ । देशका विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधि काठमाडौं आउने क्रम जारी रहेका बेला केन्द्रीय कार्यालयमा राखिएको डेस्कबाट दर्ता भइरहेको छ ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार तोकिएको तीन हजार पाँच सय रुपैयाँ शुल्क बुझाएपछि प्रतिनिधिहरूले नाम दर्ता गराउन थालेका छन् । दर्ता प्रक्रिया केन्द्रीय कार्यालयमा केन्द्रित छ ।
महाधिवेशन सचिवालयका संयोजक गोपालप्रसाद आचार्यका अनुसार आइतबार अपराह्नसम्म करिब ७० क्षेत्रका प्रतिनिधिको नाम दर्ता भइसकेको छ र उनीहरूलाई झोला वितरण गरिएको छ । तोकिएको शुल्क तिरेर नाम दर्ता भएका प्रतिनिधिलाई नेपालमै बनेको अल्लोको झोला दिइएको उनले बताए ।
झोलाभित्र पार्टीको विधान, डायरी, कलम तथा खाना र खाजाका लागि कुपन राखिएका छन् । राजनीतिक र सांगठनिक प्रतिवेदन भने सोमबार मात्र प्रतिनिधिको हातमा पर्नेछ । खुला मञ्चमा तयार गरिएको बन्दसत्रमा ती दस्तावेज वितरण गरिनेछ । महाधिवेशनको उद्घाटन भने आइतबार खुला मञ्चमै हुँदैछ ।
मितव्ययी ढंगले महाधिवेशन
प्रवक्ता चालिसेका अनुसार महाधिवेशन प्रतिनिधिले खाना र बस्ने व्यवस्था आफैं गर्नुपर्नेछ । महाधिवेशन मितव्ययी ढंगले सम्पन्न गर्ने तय भएको छ ।
यसैबीच महोत्तरीका चार र नुवाकोटका दुई निर्वाचन क्षेत्रमा प्रतिनिधि छनोटका लागि निर्वाचन भइरहेको महाधिवेशन सचिवालयले जनाएको छ । ती क्षेत्रबाट शनिबार बेलुकासम्म प्रतिनिधि निर्वाचित हुनेछन् । अन्य सबै क्षेत्रमा प्रतिनिधि चयन भइसकेको सचिवालयले जानकारी दिएको छ ।
महाधिवेशनमा करिब सात हजार छ सय प्रतिनिधि सहभागी हुनेछन् ।







