काठमाडौँ — कांग्रेस सभापति गगन थापाले प्रधानमन्त्रीको कुर्सीका लागि भइरहेको राजनीतिक दौडले नागरिकमा राजनीतिप्रति चरम वितृष्णा बढाएको बताएका छन् । पार्टीको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले यही वितृष्णा र समाजमा फैलिँदो अतिराजनीकरणबीच गत वर्षको भदौ २३ र २४ को घटना भएको जिकिर गरे ।
थापाका अनुसार नेताहरू प्रधानमन्त्रीको कुर्सीको दौडमा लागेका थिए र पहिले आपसमा झगडा गरिरहेकाहरू मिल्नतिर लागेका थिए । मिल्नुको कारण पनि प्रधानमन्त्री बन्ने लालसा नै रहेको उनको भनाइ थियो । यसरी प्रधानमन्त्री पदलाई सङ्गीतमय कुर्सीको खेलझैँ बनाइएको उनले आरोप लगाए ।
यसले नागरिकमा ‘राजनीतिले कुनै काम गर्दैन’, ‘पुराना दल काम लाग्दैनन्’, ‘सिद्धान्तको कुनै अर्थ छैन’ र ‘सबै पार्टी तथा सबै नेता उस्तै हुन्’ भन्ने धारणा बलियो बनाएको सभापति थापाले बताए । यसलाई उनले राजनीतिप्रतिको चरम वितृष्णा भने ।
वितृष्णा मात्र नभई त्यससँगै अतिराजनीकरण पनि बढेको उनको भनाइ छ । नागरिकले राजनीतिलाई काम नलाग्ने ठानिरहेका बेला सामाजिक सञ्जालमा भने जताततै राजनीतिकै चर्चा हुने गरेको छ । सामाजिक सञ्जालदेखि गीत, सङ्गीत र कमेडीसम्म राजनीतिकै विषय छाएको थापाले उल्लेख गरे ।
भदौ २३ र २४ का घटनालाई भने उनले एउटै ढङ्गले बुझ्न नहुने बताए । ती दुई दिनका घटना फरक प्रकृतिका रहेको सङ्केत गर्दै उनले २३ गतेको दमन र २४ गतेको आपराधिक घटना दुवै गलत भएको स्पष्ट पारे ।
ती घटना लामो समयदेखि थुप्रिएको उकुसमुकुसको विस्फोट भएको उनको व्याख्या छ । विगतमा राजनीतिक शक्तिमा देखिएको उन्मादले नै वर्तमान परिस्थिति निम्त्याएको संकेत पनि उनले गरे ।
सभापति थापाको यो अभिव्यक्ति कांग्रेसको महाधिवेशन उद्घाटन सत्रमा आएको हो ।







