पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति नेकपा एमालेका नेता विष्णु रिजालले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्। उनले यसलाई इतिहासको पुरानो एउटा घटनासँग जोडेर व्याख्या गरेका छन्।
रिजालका अनुसार सन् १८५१ मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा बेलायत भ्रमण सकेर फर्किएपछि आफ्नै भाइ बद्रीनरसिंह राणालाई आफूविरुद्ध षड्यन्त्र गरेको आरोपमा पक्राउ गरी थुनेका थिए। त्यसको करिब १७५ वर्षपछि अर्थात् सन् २०२६ मा प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका भ्रमणबाट फर्किएलगत्तै आफ्नो सत्ता ढाल्न लागेको भन्दै पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिइएको दाबी उनले गरेका छन्।
आइतबार मध्यरातमा जबरालाई उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। करिब १२ घण्टापछि उनलाई छाडिएको थियो। प्रहरीले भने सुरक्षा जोखिमका कारण जबरालाई सुरक्षित स्थानमा लगिएको बताएको थियो।
यही प्रसंगलाई लिएर रिजालले सामाजिक सञ्जालमा लेखेका छन् कि बालेन्द्र शाहले लामो समयसम्म थुन्न नपरेकोमा ठूलो कुरा भयो, १२ घण्टामै छाडिदिए।
त्यतिबेला त जंगबहादुरलाई उनकै भाइ बमबहादुरले पोल लगाएका थिए। अहिले कसले लगाएछ कुन्नि? जो भए पनि पोल लगाउने चाहिँ कमजोर परेछ।
रिजालले ऐतिहासिक घटनासँग तुलना गर्दै त्यसबेला जंगबहादुरविरुद्ध उनका भाइ बमबहादुरले पोल लगाएको उल्लेख गरेका छन्। अहिले पूर्वप्रधानन्यायाधीश जबराविरुद्ध कसले सूचना दिएको हो भन्ने जिज्ञासा पनि उनले राखेका छन्। सूचना दिने पात्र जो भए पनि त्यो कमजोर पक्ष भएको उनको भनाइ छ।







