नेपाल विज्ञापन संघ (आन) ले रेडबुल १३ औं कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ । संघले जारी गरेको विज्ञप्तिका अनुसार सो कार्यक्रम अवार्ड्सको तयारीसँग जोडिएर आयोजना गरिएको हो ।
विगतका वर्षहरूमा कृति अवार्ड्सको क्रममा ‘एजेन्सी ब्रिफिङ सेसन’ नामले कार्यक्रम गरिन्थ्यो, जसको मुख्य काम एजेन्सीहरूलाई अवार्ड्सका मापदण्ड तथा अन्य प्रशासनिक पक्षबारे जानकारी दिनु थियो । यस पटक भने सोही कार्यक्रमलाई गैरसदस्य एजेन्सीहरूसमेत संलग्न हुने गरी ‘कृति कनेक्ट’ नाममा भव्य रूपमा आयोजना गरिएको विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रम आयोजनाको मुख्य लक्ष्य कृति अवार्ड्सको गरिमा र छविलाई थप उचाइमा पुर्याउनु रहेको संघले जनाएको छ । सहभागिताको दायरा फराकिलो बनाउँदै अवार्ड्ससँग थप एजेन्सीहरूलाई जोड्ने उद्देश्य पनि यसमा समेटिएको छ ।
विज्ञापन तथा बजारीकरण क्षेत्रमा नयाँ सोच, ऊर्जा र आपसी सम्बन्धलाई बलियो बनाउने उद्देश्यले कार्यक्रमका क्रममा विविध गतिविधि पनि सञ्चालन गरिएको संघको विज्ञप्तिमा उल्लेख गरिएको छ । कार्यक्रममा सहभागी एजेन्सी तथा सरोकारवालाबीच अवार्ड्सको तयारी र आगामी योजनाबारे जानकारी आदानप्रदान भएको संघले जनाएको छ ।







