कालीगण्डकी नदीमा आएको बाढीले बागलुङ र पर्वत जोड्ने मोटरेबल पुलमा क्षति पुर्याएको छ । यसका कारण बागलुङ जिल्ला सडक सञ्जालबाट बिच्छेद हुन पुगेको छ भने दुई जिल्लाबीचको आवतजावत ठप्प भएको छ । शनिबारदेखि लगातार परेको वर्षापछि नदीमा आएको बाढीले पुलको बाहिरी खण्ड हुँदै कटान गरेको हो ।
यही पुल प्रयोग गरेर बागलुङ जिल्लाका साथै पश्चिम रुकुम र जाजरकोटसम्म आवतजावत हुने गरेको छ । बागलुङ खण्डमा पर्ने कालीगण्डकी करिडोर तथा मध्यपहाडी लोकमार्गमा चल्ने यातायातका साधनले मालढुंगास्थित कालीगण्डकी पुल भएर पर्वत हुँदै पोखरा र म्याग्दीबाट मुस्ताङसम्म पुग्ने गर्छन् । पुल अवरुद्ध हुँदा यी मार्गमा समेत प्रभाव परेको छ ।
संरचना सुरक्षित, वाल फिलिङमा क्षति
पुलमा बाढीले पुर्याएको असरबारे जानकारी लिन सडक डिभिजन पोखराका सीडीई कृष्णराज अधिकारीको टोली र सडक डिभिजन बागलुङका प्रमुख हरिप्रसाद सुवेदीले संयुक्त रूपमा स्थलगत अवलोकन गरेका छन् । पुलको मुख्य संरचना अर्थात् स्टक्चर भागमा बाढीले कुनै क्षति नगरेको तर पुलसँगै जोडिएको वाल फिलिङ कटान भएकाले समस्या उत्पन्न भएको निष्कर्ष टोलीको रहेको सुवेदीले बताए ।
तत्कालको व्यवस्थापनका लागि वाल लगाई फिलिङ गरेर सवारीसाधन चलाउने वा बेलीब्रिज राख्ने दुई विकल्पमा छलफल भइरहेको उनले जानकारी दिए । नदीको बहाव घटेपछि मात्र पुलको स्थायी रूपमा मर्मत सम्भव हुने उनको भनाइ छ ।
वैकल्पिक मार्गको तयारी
यातायात सञ्चालनका लागि वैकल्पिक उपायको रूपमा कालीगण्डकी करिडोर अन्तर्गत पर्ने बागलुङको जैमिनीघाटदेखि पर्वतको फलेबास जोड्ने सडकलाई अघि सारिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी फणेन्द्र प्रसाईंका अनुसार सो सडक अहिले एकतर्फी रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।







