विश्व फुटबलकै सबैभन्दा चर्चित र ऐतिहासिक प्रतिद्वन्द्वितामध्ये एक मानिने इङ्ल्यान्ड र अर्जेन्टिनाबीचको भिडन्त २४ वर्षपछि पुनः विश्वकपको मञ्चमा देखिने भएको छ। जारी फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा यी दुई महारथी टोली फाइनल प्रवेशका लागि आमनेसामने हुँदैछन्। साविक विजेता अर्जेन्टिना लगातार दोस्रोपटक उपाधि नजिक पुग्ने दाउमा छ भने इङ्ल्यान्ड ६० वर्षपछि फाइनल यात्रा तय गर्ने ऐतिहासिक लक्ष्यका साथ मैदान उत्रनेछ। सन् २००२ को विश्वकपछि यी दुई टोली पहिलोपटक विश्वकपमा भिड्न लागेका हुन्।
सेमिफाइनलसम्मको रोमाञ्चक यात्रा
प्रतियोगितामा इङ्ल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो। समूह चरणको पहिलो खेलमा क्रोएसियालाई ४–२ ले हराएको इङ्ल्यान्डले घानासँग गोलरहित बराबरी खेल्यो भने पानामालाई २–० ले पाखा लगाउँदै समूह विजेता बन्यो। नकआउट चरणको अन्तिम ३२ मा कंगोविरुद्ध पुनरागमन गर्दै २–१ को जित निकालेको उसले अन्तिम १६ मा सहआयोजक मेक्सिकोलाई १० खेलाडीमा सीमित भए पनि ३–२ ले पराजित गर्यो। क्वाटरफाइनलमा नर्वेविरुद्ध सुरुवाती अग्रता गुमाए पनि जुड बेलिङहमको दुई गोलको मद्दतमा २–१ को जित निकाल्दै इङ्ल्यान्ड सेमिफाइनलमा पुगेको हो। इङ्ल्यान्डका लागि कप्तान ह्यारी केन र जुड बेलिङहमले समान ६–६ गोल गरेका छन् भने बुकायो साका र एन्थोनी गोर्डनले समान ३–३ असिस्ट प्रदान गरेका छन्।
अर्कोतर्फ, साविक विजेता अर्जेन्टिनाले पनि बलियो प्रदर्शन गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। समूह चरणको पहिलो खेलमा अल्जेरियालाई ३–० ले हराउँदा कप्तान लियोनल मेसीले ह्याट्रिक गर्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका थिए। त्यसपछि अस्ट्रियालाई २–० र जोर्डनलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना समूह विजेता बन्यो। नकआउट चरणको अन्तिम ३२ मा केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले र अन्तिम १६ मा इजिप्टलाई ३–२ ले पराजित गरेको अर्जेन्टिनाले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले हरायो। अर्जेन्टिनाका लागि जुलियन अल्भारेज र लाउतारो मार्टिनेजले थप समयमा गोल गरेका थिए। कप्तान मेसी हालसम्म ८ गोल गर्दै गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा छन्।
ऐतिहासिक पृष्ठभूमि र हेड-टु-हेड
इङ्ल्यान्ड र अर्जेन्टिनाबीचको फुटबल इतिहास निकै रोचक र विवादित क्षणहरूले भरिएको छ। हालसम्म यी दुई टोलीबीच भएका कुल १४ खेलमध्ये इङ्ल्यान्डले ६ र अर्जेन्टिनाले ३ खेल जितेका छन् भने ५ खेल बराबरीमा टुङ्गिएका छन्। विश्वकपको मञ्चमा भने यी दुई टोली ५ पटक आमनेसामने भएका छन्, जसमा इङ्ल्यान्डले ३ र अर्जेन्टिनाले २ खेल जितेका छन्।
सन् १९६२: समूह चरणमा इङ्ल्यान्ड ३–१ ले विजयी।
सन् १९६६: क्वाटरफाइनलमा घरेलु टोली इङ्ल्यान्ड १–० ले विजयी हुँदै उपाधियात्रातर्फ अघि बढेको।
सन् १९८६: क्वाटरफाइनलमा डिएगो म्याराडोनाको चर्चित 'ह्यान्ड अफ गड' र उत्कृष्ट एकल गोलको मद्दतमा अर्जेन्टिना २–१ ले विजयी।
सन् १९९८: अन्तिम १६ को रोमाञ्चक खेल पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले जितेको, जहाँ डेभिड बेकह्यामले रातो कार्ड पाएका थिए।
सन् २००२: समूह चरणमा डेभिड बेकह्यामको पेनाल्टी गोलको मद्दतमा इङ्ल्यान्ड १–० ले विजयी, जसका कारण अर्जेन्टिना समूह चरणबाटै बाहिरिएको थियो।
टोलीको अवस्था र सम्भावित सुरुवाती ११
इङ्ल्यान्डका प्रशिक्षक थोमस टुचेलसँग टोलीका मुख्य खेलाडीहरू उपलब्ध छन्। कप्तान ह्यारी केन र जुड बेलिङहमको आक्रमणलाई बुकायो साका र एन्थोनी गोर्डनले विंग्सबाट बलियो साथ दिनेछन्। मध्यपङ्क्तिमा डेक्लान राइसले टोलीको सन्तुलन मिलाउनेछन्।
अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी पनि पूर्ण शक्तिसहित मैदान उत्रने तयारीमा छन्। कप्तान मेसीको नेतृत्वमा रहेको आक्रमणलाई जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र रोड्रिगो डे पलले मिडफिल्डबाट बलियो बनाउनेछन्। रक्षापङ्क्तिमा क्रिस्टियन रोमेरो र लिसान्द्रो मार्टिनेज तथा गोलपोस्टमा एमिलियानो मार्टिनेजको बलियो उपस्थिति रहनेछ।
सम्भावित सुरुवाती खेलाडीहरू
इङ्ल्यान्ड: जोर्डन पिकफर्ड; रीस जेम्स, एज्री कोन्सा, मार्क गेही, निको ओ’राइली; इलियट एन्डरसन, डेक्लान राइस; बुकायो साका, जुड बेलिङहम, एन्थोनी गोर्डन; ह्यारी केन।
अर्जेन्टिना: एमिलियानो मार्टिनेज; नाहुएल मोलिना, क्रिस्टियन रोमेरो, लिसान्द्रो मार्टिनेज, निकोलस टालियाफिको; रोड्रिगो डे पल, लिएन्ड्रो परेडेस, एलेक्सिस म्याक एलिस्टर, एन्जो फर्नान्डेज; लियोनल मेसी, जुलियन अल्भारेज।
यो बहुप्रतीक्षित दोस्रो सेमिफाइनल खेल ३२ असारको बिहान १२:४५ बजे एट्लान्टा स्टेडियममा खेलिनेछ, जसको प्रत्यक्ष प्रसारण हिमालय स्पोर्ट्स च्यानलबाट हुनेछ।




