मुख्य सामग्रीमा जानुहोस्

हनुमानढोकामा आज राति कालरात्रि पूजा, महाअष्टमीको मूल कर्म पनि सोमबारै

हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार समितिसँगको परामर्श र तलेजुका पुजारीको परम्पराअनुसार कालरात्रि पूजा सोमबार राति गरिनेछ। दशैँ घरमा आइतबार महाअष्टमीको सामान्य पूजा भएको छ भने…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
हनुमानढोकामा आज राति कालरात्रि पूजा, महाअष्टमीको मूल कर्म पनि सोमबारै
Nagariknetwork

हनुमानढोकामा राज्यका तर्फबाट गरिने कालरात्रि पूजा यस वर्ष कात्तिक २ गते सोमबार राति सम्पन्न हुने भएको छ। हनुमानढोका दरबार हेरचाह अड्डाले दिएको जानकारीअनुसार पूजा समितिसँगको परामर्श र तलेजुका पुजारीले निर्वाह गर्दै आएको परम्पराअनुसार गरिनेछ।

हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले यस विषयमा जानकारी दिएका छन्। हनुमानढोका दरबारमा महाअष्टमीको कर्म सकिएलगत्तै भोलिपल्ट महानवमीको पूजा, आराधना तथा अन्य कर्म गर्ने परम्परा रहेकाले यसपालि कालरात्रि पूजा सोमबार राति राखिएको उनको भनाइ छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा कात्तिक १ गते राति नै गर्नुपर्ने उल्लेख छ। अष्टमी तिथि दुई दिन पर्ने भएकाले यो वर्ष नवरात्र दशरात्र बनेको हो।

दश रात्रिको जमरा

यसैअनुसार विजया दशमीका दिन टीका लगाउँदा दश रात्रिकै जमरा लगाइने भएको छ। देवीको साधना, पूजा र आराधनामा एक दिन थपिँदा त्यसले कुनै फरक नपर्ने धर्मशास्त्रविद्हरूको भनाइ रहेको पाइन्छ।

हनुमानढोका दरबारको दशैँ घरमा कात्तिक १ गते आइतबार पनि महाअष्टमीको सामान्य पूजा गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ। मूल पूजा भने सोमबार गरिने अड्डाको भनाइ छ।

परम्पराअनुसार महाअष्टमीको राति हनुमानढोका दरबारमा १०८ पशु बलिसहित पूजा तथा आराधना गरिँदै आएको छ।