मुख्य सामग्रीमा जानुहोस्

दसैँमा घर फर्कनेको चटारो, दुर्गम गाउँको यात्रा अझै कष्टकर

बडादसैँ नजिकिएसँगै देश तथा विदेशबाट घर फर्कनेको लर्को लागेको छ। टिकटको सकस र लामो यात्राका बीच पनि परिवारसँग भेट्ने रहरले यात्रुहरूलाई गाउँतिर तानेको छ। गाउँ फर्केपछि अन्नबाली भित्र्याउने, न्वागी खाने र पिङमा रमाउने क्रम…

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
दसैँमा घर फर्कनेको चटारो, दुर्गम गाउँको यात्रा अझै कष्टकर
Nagariknetwork

बडादसैँ नजिकिएसँगै काम तथा रोजगारीका सिलसिलामा देश तथा विदेशमा रहेका नागरिक आफ्नो गाउँ फर्किन थालेका छन्। हवाई तथा स्थलमार्ग दुवैतर्फ यात्रुको भीड बढे पनि टिकट पाउन नै सकस भइरहेको छ। पैसा तिर्न तयार भएर पनि आफूलाई चाहिएको समयमा सहज यात्रा गर्न नपाएको यात्रुहरूको भनाइ छ।

यात्रा महँगो र कष्टकर भए पनि चाडमा परिवार, आफन्त तथा इष्टमित्रसँग भेट्ने आशाले उनीहरूलाई सहनुको विकल्प छैन। खाडी मुलुक तथा भारतबाट फर्किनेहरूको भीड पनि उत्तिकै छ। वर्षौंदेखि भेट्न नपाएका आफन्तलाई भेट्ने धोको पूरा गर्न दसैँ र तिहार सामाजिक एकता र आपसी सद्भावको संगम बनेको देखिन्छ।

हिमाली गाउँको कष्टकर बाटो

कर्णाली प्रदेशका हिमाली जिल्लाका दुर्गम गाउँ पुग्नेहरूका लागि भने यात्रा अझै जटिल र लामो बनेको छ। अदानचुली गाउँपालिका हुम्लाका मनरुप परियारले सुर्खेत–दैलेख–कालीकोट हुँदै कर्णाली करिडोर भएर बाजुरा पुगी हुम्ला आइपुग्न दुई दिन लागेको बताए। बाटोमा गाडी चढ्नुका साथै पैदल पनि हिँड्नुपरेको र सोमबार बिहान मात्र घर पुगेको उनले जानकारी दिए। मातृभूमि छोएपछि बाटोको थकाइ बिर्सिएको उनको भनाइ छ।

कर्णाली राजमार्ग भएर दैलेख, कालीकोट, बाजुरा, हुम्ला, जुम्ला र मुगु तथा सुर्खेत हुँदै भेरी करिडोर भएर सल्यान, रुकुमपश्चिम, जाजरकोट र डोल्पा जाने यात्रुले पनि निकै दुःखका साथ गन्तव्यमा पुग्नुपर्ने अवस्था छ। यसैबीच काम तथा रोजगारीका लागि घर छोडेकाहरूको दसैँ मनाउन घर फर्किने चटारो भने कायमै छ।

गाउँमा चाडको रमझम

भारतको बैंगलोरबाट घर फर्केका जुम्लाको तिला गाउँपालिका–४ का नमराज शाहीले सहरको कोलाहलबाट गाउँ पुग्दा शान्त भूमिमा पुगेको अनुभूति भएको बताए। गाउँमा घरहरू टाढाटाढा भए पनि सोच, मन र मानवीय भावना नजिक रहेको उनको भनाइ छ। सहरमा घरहरू जोडिए पनि आपसी सद्भावको अभाव भेटिने उनले बताए।

यतिबेला गाउँतिर सिमी, मकै, कोदो, चिनो, कागुनो, मार्से, गहत र मासलगायतका अन्नबाली भित्र्याउने, भर्खरै भित्र्याइएका अन्न न्वागीका रूपमा खाने, आफूसँग भएका उत्पादन छिमेकीबीच साटासाट गर्ने र पिङ खेल्दै सुखदुःख बाँड्ने काम भइरहेको शाहीले बताए। सहरभन्दा गाउँमै दसैँको रमाइलो बढी भएको उनको भनाइ छ।

सहरमा चहलपहल घट्दै

नागरिकहरू दसैँ तथा दिपावली मनाउन मातृभूमि फर्किएसँगै सहरमा मानिसको ओहोरदोहोर र चहलपहल घट्दै गएको छ। सहरको ठूलो हिस्सा गाउँ फर्किएपछि रमझम पनि कम देखिन्छ। विमानस्थल र बसपार्कमा भने गाउँ जाने यात्रुकै भीड छ।

ईश्वरपुर नगरपालिका–३ सर्लाहीबाट जुम्ला जाँदै गरेकी यात्रु बिन्दुकमारी सिंहले यात्राको दुःखभन्दा मातृभूमि भेट्ने रहरले जितेको बताइन्। रोजगारी र अवसरका लागि घर छोडेर सहर पस्नु रहर नभई बाध्यता भएको उनको भनाइ छ। सामाजिक अपराध, अमानवीयता र सहयोगको दृष्टिकोणले सहरभन्दा गाउँ नै सम्पन्न रहेको उनले बताइन्।

यतिबेला सहरभन्दा गाउँ रहर, आशा, एकता, सद्भाव, मिलन र बडादसैँको उमंगले रंगीन बन्दै गएको सिंहको भनाइ छ।