यस वर्षको नवरात्रमा अष्टमी तिथि दुई दिन पर्ने भएकाले महाअष्टमीका कर्म दुवै दिन गर्नुपर्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तिथि वृद्धि भई अष्टमी दुई दिन परेको जनाउँदै स्वीकृत गरेको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरेको छ।
समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईका अनुसार कात्तिक १ गते गरिएका महाअष्टमीका कर्म कात्तिक २ गते पनि दशैँ घर वा पूजा कोठामा दोहोर्याउनुपर्छ। कात्तिक २ गते नवरात्रको नवौँ दिन भए पनि गरिने कर्म भने आठौँ दिनकै हुने उनले जानकारी दिएका छन्।
सोमबार पनि नवदुर्गामध्येकी आठौँ देवी महागौरीकै पूजा आराधना गर्नुपर्ने र महाअष्टमीका अन्य कर्म पनि अघिल्लो दिन गरिएझैँ दोहोर्याउनुपर्ने उनको भनाइ छ।
कालरात्रि पूजा कात्तिक १ गते राति नै
आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गते राति नै गर्नुपर्ने कुरा समितिले स्वीकृत गरेको पात्रोमा उल्लेख छ। अष्टमी दुई दिन परेकाले यस वर्ष नवरात्र नै दशरात्र बनेको छ र विजयादशमीका दिन टीका लगाउँदा १० रात्रिका जमरा लगाइने पात्रोमा उल्लेख छ।
देवीको साधना तथा पूजा, आराधनाका लागि एक दिन थपिँदा केही फरक नपर्ने धर्मशास्त्रविद्हरूको भनाइ छ।







