कोशी प्रदेशमा विगतका वर्षहरूको तुलनामा यस वर्ष डेंगु संक्रमणको दरमा उल्लेख्य कमी आएको छ। यद्यपि, मनसुनको समय अझै बाँकी रहेकाले स्वास्थ्य अधिकारीहरूले सतर्क रहन र संक्रमण नियन्त्रणका उपायहरू अपनाउन आग्रह गरेका छन्।
तथ्याङ्कले देखाएको सुधार
कोशी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, यस वर्ष हालसम्म प्रदेशभरि ४ हजार ८ सय २३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। यो संख्या गत वर्षको ६ हजार ८ सय ६३ र दुई वर्षअघिको १८ हजार ६७ को तुलनामा निकै कम हो। संक्रमण दरमा आएको यो गिरावटले केही राहत दिए पनि जोखिम अझै टरििनसकेको स्वास्थ्यकर्मीहरूको भनाइ छ।
जिल्लागत संक्रमणको अवस्था
जनस्वास्थ्य अधिकृत अनिल श्रेष्ठका अनुसार मोरङ जिल्लामा सबैभन्दा बढी २ हजार ३ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेशका तराई क्षेत्रमा पर्ने तीन जिल्लाहरू मोरङ, झापा र सुनसरीमा मात्रै कुल ३ हजार ७ सय ६२ संक्रमित फेला परेका छन्। यसैगरी, प्रदेशका बाँकी ११ पहाडी तथा हिमाली जिल्लाहरूमा कुल १ हजार ६१ जनामा संक्रमण देखिएको छ।
पहाडी जिल्ला धनकुटामा संक्रमणको संख्यामा निरन्तर गिरावट आइरहेको छ। धनकुटामा तीन वर्षअघि ४ सय ८३ जना संक्रमित फेला परेकोमा गत वर्ष १ सय ५६ र यस वर्ष केवल ५० जनामा मात्र संक्रमण पुष्टि भएको छ। यसैगरी, पहाडी जिल्ला इलाम र हिमाली जिल्ला सोलुखुम्बुमा यस सिजनमा ४-४ जनामा मात्र डेंगु पुष्टि भएको छ।
प्रदेशका अन्य जिल्लाहरूमध्ये संखुवासभामा ५ सय ७६, झापामा ८ सय ४५, सुनसरीमा ५ सय ३४, खोटाङमा १ सय २७, भोजपुरमा १ सय ३, उदयपुरमा ८८, ताप्लेजुङमा ८३, तेह्रथुममा ६३, पाँचथरमा २१ र ओखलढुङ्गामा १५ जनामा संक्रमण पुष्टि भएको छ।
रोकथाम र स्वास्थ्य सचेतना
एडिस (Aedes) जातको लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको जोखिम विशेषगरी मध्य जुनदेखि मध्य नोभेम्बरसम्मको मनसुन अवधिमा उच्च रहने गर्दछ। स्वास्थ्य कार्यालय प्रमुख सिर्जना बन्जाडेले संक्रमण घट्दो क्रममा भए पनि वर्षायाम नसकिएकाले सर्वसाधारणलाई सचेत रहन आग्रह गर्नुभएको छ। उहाँका अनुसार व्यक्तिगत सरसफाइ कायम राख्नुका साथै घरवरपर पानी जम्न नदिने र लामखुट्टेको बासस्थान नष्ट गर्नु नै यसबाट बच्ने मुख्य उपाय हो।
लामखुट्टेको लार्भा नष्ट गर्नका लागि प्रत्येक शुक्रबार सरकारी कार्यालय र सार्वजनिक स्थलहरूमा साप्ताहिक सरसफाइ अभियान सञ्चालन भइरहेको छ। संक्रमित लामखुट्टेले टोकेको ४ देखि १४ दिनभित्र मानिसमा यसको लक्षण देखिन थाल्छ।
स्वास्थ्य अधिकारीहरूका अनुसार उच्च ज्वरो आउनु, टाउको असाध्यै दुख्नु, आँखाको पछाडिको भाग दुख्नु, शरीर दुख्नु, कमजोरी महसुस हुनु र वाकवाकी लाग्नु डेंगुका प्रमुख लक्षण हुन्। यस्ता लक्षणहरू देखा परेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर परीक्षण गराउन उनीहरूले सुझाव दिएका छन्। ज्वरो कम गर्नका लागि प्यारासिटामोल प्रयोग गर्न सकिने भए पनि उचित निदान र उपचारका लागि स्वास्थ्य संस्थाको सम्पर्कमा रहनु अनिवार्य रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ।







