अगस्ट २६ गते भोटेकोशी–त्रिशुली नदी प्रणालीमा गएको भीषण बाढीले निजी घरधुरी तथा व्यवसायमा करिब ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको प्रारम्भिक मूल्याङ्कनले देखाएको छ। राष्ट्रिय योजना आयोगले गरेको सो अध्ययनले पछिल्ला वर्षमा नेपालमा आएका सबैभन्दा विनाशकारी बाढीमध्ये एकले निजी क्षेत्रमा पारेको आर्थिक भार निकै ठूलो रहेको देखाएको छ।
आयोगको प्रारम्भिक तथ्याङ्कअनुसार घरधुरीतर्फ ६९ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ भने व्यवसाय तथा उद्यमतर्फ थप ९ अर्ब ६९ करोड रुपैयाँको नोक्सानी भएको छ। कुल क्षतिको सबैभन्दा ठूलो हिस्सा जग्गा र आवाससँग जोडिएको छ।
जग्गा र घरमै सबैभन्दा ठूलो नोक्सानी
बाढीले आवासीय जग्गामा १३ अर्ब २६ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ भने घरहरू भत्कँदा वा क्षतिग्रस्त हुँदा ११ अर्ब ९५ करोड रुपैयाँ बराबरको नोक्सानी भएको छ। यसैगरी ३ हजार ६१० परिवारको स्वामित्वमा रहेको ५०७ दशमलव ९७ हेक्टर निजी जग्गा क्षतिग्रस्त हुँदा ३५ अर्ब ४४ करोड रुपैयाँ बराबरको क्षति भएको मूल्याङ्कनमा उल्लेख छ।
बाढीले जीविकोपार्जनमा पनि ठूलो असर पुर्याएको छ। २ हजार ९५१ परिवारको बाली नष्ट हुँदा २३ करोड २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ भने खाद्य भण्डारण संरचना, पशुधन तथा मत्स्यपालनमा पनि थप नोक्सानी पुगेको छ। यसैगरी १ हजार १०० भन्दा बढी घरधुरीका सवारीसाधन नष्ट वा क्षतिग्रस्त हुँदा १ अर्ब २४ करोड रुपैयाँ बराबरको क्षति भएको देखिएको छ।
चार जिल्लाका ६ हजार ८१७ परिवार प्रभावित
सर्वेक्षणका क्रममा सबैभन्दा बढी प्रभावित धादिङ, गोरखा, नुवाकोट र रसुवा जिल्लामा गरी ६ हजार ८१७ परिवार, ३२ हजार ८७२ व्यक्ति र ४९९ व्यवसाय प्रभावित भएको पाइएको छ। ती जिल्लामा २ हजार ९८९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
अधिकारीहरूले यो मूल्याङ्कन प्रारम्भिक भएको र प्रभावित जिल्लाका १५ स्थानीय तहमा खटिएका ५८ फिल्ड टोलीले डिजिटल विधिबाट गरेको सर्वेक्षणमा आधारित रहेको जनाएका छन्।
सार्वजनिक पूर्वाधारमा मात्र सीमित नरही घर, खेतीयोग्य जमिन, जीविकोपार्जन र व्यवसायसम्म पुगेको यो क्षतिले प्रभावित समुदायको पुनर्लाभ तथा पुनर्निर्माणको काम कति चुनौतीपूर्ण हुनेछ भन्ने सङ्केत गरेको छ।







