नागढुंगा सुरुङमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधनबाट १५ कात्तिकदेखि सडक उपभोग दस्तुर लिन सुरु गरिएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सुरुङमार्ग प्रयोग गरेबापत सवारीको वर्गअनुसार शुल्क उठाइने जानकारी गराएको हो ।
यो शुल्क सडक बोर्ड नेपालको कार्यकारी समितिको १२ असोजको निर्णयका आधारमा लिन लागिएको आयोजनाले जनाएको छ । सोसँग सम्बन्धित सूचना २०८२ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित भएको थियो ।
कुन वर्गले कति तिर्ने ?
वर्ग १ : कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।
वर्ग २ : मिनी बस तथा मिनी टिपर/ट्रकले प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ ।
वर्ग ३ : बस तथा ट्रकका लागि प्रवेशमा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तोकिएको छ ।
वर्ग ४ : मल्टी एक्सल ट्रक तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ बुझाउनुपर्ने आयोजनाले जनाएको छ ।
सुरुङमार्गको प्रयोगसँग जोडिएर तोकिएको यो दस्तुर सवारीको आकार र भारका आधारमा फरक पारिएको छ । हलुका सवारीमा सबैभन्दा कम र भारी उपकरणमा सबैभन्दा बढी शुल्क लाग्ने व्यवस्था सूचनामा उल्लेख छ ।







