तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा बाँकी रहेका खेलका लागि कर्णाली याक्सले बङ्गलादेशका युवा ब्याटर जिशन अलामलाई टोलीमा समावेश गरेको छ। कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले आइतबार जिशनलाई टोलीमा भित्र्याइएको जानकारी दिएका हुन्।
उनका अनुसार जिशनको आगमनले टोलीको शीर्ष क्रम अझ मजबुत हुने अपेक्षा गरिएको छ। बाँकी खेलहरूका लागि टोलीले ब्याटिङतर्फ बलियो विकल्प खोजिरहेका बेला बङ्गलादेशी युवा खेलाडीको अनुबन्ध भएको हो।
२१ वर्षीय जिशन ब्याटिङ अलराउन्डर हुन् र उनले बङ्गलादेशको उमेर समूह हुँदै ‘ए’ टोलीबाट समेत खेलिसकेका छन्। बङ्गलादेशका फ्रेन्चाइज टोली राजशाही वारियर्स तथा दुरबार राजशाहीबाट पनि उनले खेलको अनुभव बटुलेका छन्।
कर्णाली याक्समा आबद्ध हुने जिशन तेस्रो बङ्गलादेशी खेलाडी हुन्। यसअघि अरिफुल इस्लाम र अकबर अलीलाई टोलीले अनुबन्ध गरिसकेको छ।
जिशनको प्रदर्शनलाई हेर्दा लिस्ट ‘ए’ का ४९ खेलमा उनले एक हजार दुई सय ९५ रन बनाएका छन्। यस्तै, २७ टी–२० अन्तर्राष्ट्रिय खेलमा उनको नाममा पाँच सय ७१ रन रहेको छ।







