बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा पाइने नुन गोरखाको उत्तरी भेगका विकट बस्तीमा प्रतिप्याकेट २०० रुपैयाँसम्म तिरेर किन्नुपर्ने भएको छ । सडक सञ्जालको पहुँच नपुगेकाले ढुवानीमै चर्को खर्च लाग्ने हुँदा चुमनुब्री गाउँपालिकाका बासिन्दाले नुनसहित दैनिक उपभोग्य वस्तु महँगो मूल्यमा खरिद गर्न बाध्य छन् ।
देशभर नुन आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य प्रतिकिलो २६, न्यू शक्ति नुनको २० र भानु नुनको नौ रुपैयाँ तोकेको छ । तर हिमालपारिको यो गाउँपालिकाभित्र आयो नुनको एक प्याकेट ६० रुपैयाँदेखि २०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । बस्ती जति विकट, नुनको मूल्य त्यति नै बढी छ ।
गाउँैपिच्छे फरक मूल्य
मनास्लु क्षेत्रअन्तर्गत तिब्बती सीमावर्ती सामागाउँ र साम्दोमा आयो नुनको एक प्याकेट २०० रुपैयाँ पर्छ । तल्लो क्षेत्रमा ३० रुपैयाँमा पाइने सोही नुन साम्दोसम्म पुर्याउन ढुवानीमै १०० रुपैयाँ लाग्ने स्थानीय निमा दोर्जे बताउँछन् । आरुघाट र आर्खेटबाट पाङसिङसम्मको ढुवानी खर्च त्यसमा छुट्टै हुन्छ र पसलेले पाँचदेखि १० रुपैयाँ नाफा राख्दा प्याकेटको मूल्य २०० पुग्ने उनको भनाइ छ ।
सामागाउँभन्दा केही तल वडा नं २ को ल्हो गाउँमा खाद्यान्न ढुवानी भाडा प्रतिकिलो ८० रुपैयाँ पर्ने भएकाले आयो नुनको प्याकेट १५० रुपैयाँमा पाइन्छ । वडा नं ५ बिहीमा भने प्याकेटको मूल्य १०० रुपैयाँ छ । स्थानीय काल्देन छेवाङका अनुसार पाङसिङदेखि बिहीसम्म खच्चडबाट सामान ढुवानी गर्दा हिउँदमा प्रतिकिलो २५ रुपैयाँ भाडा लाग्छ र नुन १०० रुपैयाँमै पर्छ, तर वर्षायामा भाडा प्रतिकिलो ७० रुपैयाँसम्म पुग्दा मूल्य पनि बढ्छ । वडा नं ४ प्रोकमा ढुवानी खर्चका आधारमा नुन प्रतिकिलो १०० देखि १७० रुपैयाँसम्म पर्ने स्थानीयवासी बताउँछन् ।
चुम उपत्यकाका अन्तिम बस्ती छुले र निलेमा एक प्याकेट आयो नुनको १८० देखि २०० रुपैयाँ तिर्नुपर्छ । पाङसिङबाट डेढदेखि दुई दिनको पैदल दूरीमा रहेका ती बस्तीमा खच्चडबाट सामान पुर्याउँदा प्रतिकिलो ६० रुपैयाँ भाडा लाग्छ । लामागाउँसम्म ५५ र छेकम्पारको छेक गाउँसम्म प्रतिकिलो ५० रुपैयाँ भाडा पर्ने स्थानीय पासाङ फुन्जो लामा जानकारी दिन्छन् । छेकम्पारका बस्तीमा एक प्याकेट आयो नुन १५० रुपैयाँमा बिक्री हुन्छ भने वडा नं ६ चुम्लिङमा १०० रुपैयाँ पर्छ । पाङसिङबाट चुम्लिङसम्म खाद्यान्न ढुवानी गर्दा प्रतिकिलो ३० रुपैयाँ भाडा लाग्ने स्थानीय गोपाल लामा बताउँछन् ।
अनुदानको नुन सिर्दिबासमै सीमित
विकट हिमाली क्षेत्रका बासिन्दालाई सहुलियत दरमा नुन उपलब्ध गराउन सरकारले ढुवानी अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ र त्यसको व्यवस्थापन साल्ट ट्रेडिङ कर्पोरेसनले गर्छ । कर्पोरेसनका गण्डकी प्रदेश प्रमुख सागर सेरचनका अनुसार चालु आर्थिक वर्षमा उत्तरी गोरखाको सिर्दिबासका लागि ३५० क्विन्टल आयो नुन पठाइएको छ । मागअनुसार नुन पठाउने गरिएको र पोखराबाट सिर्दिबाससम्म नुन ढुवानी गर्ने ठेकेदारलाई सरकारले ढुवानी खर्च उपलब्ध गराउने उनको भनाइ छ । कर्पोरेसनले प्रतिकिलो २८ रुपैयाँका दरले नुन पठाउने गरेको छ ।
तर अनुदानमा आएको नुन उत्तरी गोरखाका सबै विकट बस्तीसम्म पुग्न सकेको छैन । स्थानीय पासाङ फुन्जो लामाका अनुसार सरकारले जगतसम्म नुन पुर्याउन ढुवानी अनुदान दिन्छ, त्यहाँबाट सामागाउँ र साम्दो पुग्न चार दिन र छेकम्पार पुग्न तीन दिन लाग्छ । बाँकी बाटोका लागि खच्चड भाडा तिर्नैपर्ने र अनुदानको नुन सिर्दिबास क्षेत्रमै खपत हुने गरेको उनको भनाइ छ ।
ट्र्याक खुल्यो, मोटर पाङसिङसम्म
नेपाली सेनाले गाउँपालिका केन्द्र फिलिमदेखि केही माथि पेवाससम्म सडकको ट्र्याक खोले पनि मोटर भने पाङसिङसम्म मात्र पुगेको छ । बेनीघाट–आरुघाट–लार्के सडकअन्तर्गत हावाडाँडादेखि चीनको सीमास्थित लार्के भञ्ज्याङसम्म ट्र्याक खोल्ने जिम्मा पनि सेनालाई दिइएको छ, तर बजेट अभाव र स्रोत सुनिश्चितताको समस्याले निर्माणले गति लिन सकेको छैन । जसका कारण चुमनुब्री गाउँपालिका–३ सिर्दिबासबाहेक अन्य छ वटा वडा सडक सञ्जालको पहुँचबाट टाढा छन् ।
सडक पुगेको गाउँपालिका केन्द्र फिलिम र आसपासमा समेत ढुवानी खर्चका कारण ३० रुपैयाँको आयो नुनको प्याकेट ६० रुपैयाँ पर्ने स्थानीय कुमारी गुरुङ बताउँछिन् । आर्खेटबाट फिलिमसम्म खाद्यान्न आइपुग्दा मूल्य बढ्ने उनको भनाइ छ ।
मोटर पुगेको वडा नं ३ पाङसिङभन्दा माथिका बस्तीमा भने खच्चड नै खाद्यान्न ढुवानीको मुख्य साधन हो । मनास्लु क्षेत्रको अन्तिम बस्ती सामागाउँ र साम्दोसम्म खच्चडबाट खाद्यान्न पुर्याउँदा प्रतिकिलो १०० रुपैयाँ भाडा लाग्ने सामागाउँका व्यवसायी वीरबहादुर लामा बताउँछन् । तीन दिनको पैदलयात्रापछि ती गाउँमा पुग्ने खाद्यान्नको ढुवानी खर्च प्रतिकिलो १०० रुपैयाँ पर्ने उनको भनाइ छ ।







