बाँके जिल्लाका खेतबारीमा गोरु जोतेर धान रोप्ने परम्परागत दृश्य दुर्लभ बन्दै गएको छ। ट्र्याक्टर र पावर टिलरले गोरुको स्थान लिएपछि किसानहरूले धान रोपाइँको काम छिटो र प्रभावकारी रूपमा सम्पन्न गरिरहेका छन्।
जनकी गाउँपालिका–३ का किसान सुन्दर खतिकले आफूले वर्षौंदेखि खेत जोत्न ट्र्याक्टर प्रयोग गरिरहेको बताए। उनले भाडामा लिएको दुई बिघा जग्गामा धान रोप्न ट्र्याक्टर प्रयोग गरिरहेका छन्। “ट्र्याक्टर चालकले प्रतिघण्टा दुई हजार पाँच सयदेखि तीन हजार रुपैयाँसम्म लिन्छन्,” उनले भने, “अधिकांश किसानले गोरु वा भैंसी पाल्न छोडिसकेका छन्। ट्र्याक्टर र पावर टिलर नै मुख्य विकल्प बनेका छन्।” मल, ज्याला र मेसिनरीको खर्च बढेसँगै धान खेतीको लागत पनि निरन्तर बढिरहेको उनले बताए।
कृषि ज्ञान केन्द्रका प्रमुख विनोद घिमिरेका अनुसार पछिल्ला वर्षहरूमा कृषि यान्त्रीकरण व्यापक रूपमा विस्तार भएको छ। “किसानहरूले गोरु र भैंसी पाल्न छोडेपछि खेतीपातीमा मेसिनको प्रयोग बढेको छ,” उनले भने। स्थानीय सरकारहरूले हाते ट्र्याक्टर र पावर टिलर जस्ता उपकरण वितरण गरेर यान्त्रीकरणलाई प्रोत्साहन गरिरहेका छन्।
जिल्लामा यस वर्षको करिब ७० प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ। सिँचाइ भएका क्षेत्रमा धान रोपाइँ सम्पन्न भए पनि वर्षा आश्रित क्षेत्रहरूमा काम जारी रहेको कृषि विस्तार अधिकृत सुजिता शर्माले बताइन्। प्रदेश सरकार गठन भएदेखि हालसम्म करिब १८० कृषि मेसिन (पावर टिलर, थ्रेसरलगायत) अनुदानमा वितरण गरिएको उनको भनाइ छ। अधिकांश मेसिन ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको थियो।
कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार बाँकेमा ५५ हजार ८२६ हेक्टर कृषियोग्य जमिन रहेको छ, जसमध्ये ३३ हजार ७८० हेक्टरमा धान खेती हुँदै आएको छ। यस वर्ष २० हजार २६८ हेक्टरभन्दा बढी क्षेत्रफलमा धान रोपिसकिएको छ।
