दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा आइतबार बिहान एक व्यक्तिले घरभित्रै पसेर धारिलो हतियार प्रहार गर्दा एउटै परिवारका चार जना महिला घाइते भएका छन् । घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनका अनुसार आइतबार बिहान करिब ५ बजे चन्द्रबहादुर पुन मगरको घरमा पुगेर करिब ३७ वर्षीय बमबहादुर रावतले धारिलो हतियार प्रहार गरेका थिए । सोही परिवारका चार महिला उक्त आक्रमणबाट घाइते भएका हुन् ।
घाइते हुनेमा चन्द्रबहादुर पुन मगरकी श्रीमती ४५ वर्षीया बीमा मगर, उनकी भाइबुहारी २५ वर्षीया महेसरा पुन तथा छोरीहरू २३ वर्षीया तिला पुन र २० वर्षीया लक्ष्मी पुन रहेको प्रहरी निरीक्षक हरिजनले बताए । चारै जना एकै परिवारका सदस्य हुन् ।
घाइतेमध्ये बीमा मगरको अवस्था गम्भीर छ । उनलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख पुर्याइएको छ । अन्य घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि अन्यत्र पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
आक्रमणपछि फरार भएका रावतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले के कारणले उक्त परिवारका सदस्यहरूमाथि हतियार प्रहार गरे भन्ने हालसम्म खुलेको छैन । कारणबारे अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरी निरीक्षक हरिजनले जानकारी दिए । घटनास्थलमा प्रहरी पुगेर आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।







