पाकिस्तानको रावलपिण्डीमा टेलिभिजन प्रस्तोता राबिया अहसानको आफ्नै निवासमा गोली लागेर मृत्यु भएको छ । ४१ वर्षीया अहसानलाई आइतबार घाँटीमुनि लागेको गोलीबाट चोट पुगेको प्रहरीले जनाएको छ । गुलशनाबाद क्षेत्रमा बस्दै आएकी उनी एक निजी टेलिभिजन च्यानलमा प्रस्तोता तथा कार्यक्रम सञ्चालिकाका रूपमा कार्यरत थिइन् ।
घटनाबारे राबियाका पतिले पेस्तोल मिलाउने क्रममा अकस्मात् गोली चलेको प्रतिक्रिया दिएका छन् । पेस्तोलमा गोली भरिएको विषय आफूलाई थाहा नभएको उनको दाबी छ । तर राबियाका दाजुभाइले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई हिरासतमा लिएको छ र घटनामा प्रयोग भएको बन्दुक बरामद गरेको छ ।
रावलपिण्डीका सिटी प्रहरी अधिकारी हसन सुखेराका अनुसार गोली चल्ने बेला राबियाकी १३ र ११ वर्षकी दुई छोरी घरको प्राङ्गणमा मावली हजुरआमासँग बसिरहेका थिए । घरमा काम गर्ने एक कर्मचारीसँग पनि प्रहरीले सोधपुछ गरेको छ ।
घटनामा हत्याको मुद्दा सदर बेरुनी प्रहरी चौकीमा दर्ता भएको छ । पञ्जाब फरेन्सिक साइन्स एजेन्सीको टोलीले घरबाट प्रमाण संकलन गरिरहेको छ भने राबियाको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
पेशागत पृष्ठभूमि
राबिया अहसानले यसअघि वरिष्ठ पत्रकार आमिर मतिन र रउफ क्लासरासँग मिलेर करेन्ट अफेयर्स कार्यक्रम सञ्चालन गरेकी थिइन् । पछिल्लो समय उनी निजी च्यानलमा प्रस्तोता एवं कार्यक्रम सञ्चालिकाको भूमिकामा देखिन्थिन् ।
निन्दा र छानबिनको माग
राबियाको मृत्युप्रति पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीकी छोरी आसिफा भुट्टो जरदारीले दुःख व्यक्त गरेकी छन् र हत्याको निन्दा गरेकी छन् । घटनाको सत्यतथ्य बाहिर ल्याउन तथा दोषीमाथि कारबाही सुनिश्चित गर्न निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्ने उनको माग छ ।
रावलपिण्डीमा महिलामाथि हुने यस्ता घटनाको क्रमबारे पनि उनले चिन्ता व्यक्त गरेकी छन् । सोही सहरमा गत अगस्टमा ४५ वर्षीया डिजिटल मिडिया अधिकारी हिना जावेद आफ्नै घरमा शरीरमा चोटका निसानसहित मृत फेला परेकी प्रसंग उनले उल्लेख गरेकी छन् ।
पाकिस्तानमा पछिल्ला वर्षहरूमा महिलाविरुद्ध हिंसा र हत्याका धेरै घटना सार्वजनिक भएका छन् । पाकिस्तानको मानवअधिकार मन्त्रालयका अनुसार सन् २०२१ देखि २०२४ को बीचमा महिलाविरुद्ध हिंसासम्बन्धी १ लाख ७३ हजारभन्दा बढी उजुरी दर्ता भएका छन् ।
(पाकिस्तानी सञ्चारमाध्यमहरूको सहयोगमा)







