संयुक्त अरब इमिरेट्स (युएई) को फुजैराहमा बुधबार राति भएको बहुसवारी दुर्घटनामा कम्तीमा १४ जनाको ज्यान गएको छ र ३० जना घाइते भएका छन्। सो दुर्घटनामा १८ वटा कार र पाँचवटा ट्रक एक आपसमा ठोक्किएको युएईको आन्तरिक मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार घटना फुजैराह प्रवेशद्वार नजिक भएको हो। एक ट्रक चालकले सवारीको नियन्त्रण गुमाएपछि सो गाडी अर्को सवारीसाधनसँग ठोक्किएको र त्यसपछि दुवै गाडी सडकबाट बाहिर पुगेको प्रारम्भिक विवरणले देखाएको छ। सुस्त गतिमा अघि बढिरहेको ट्राफिकका कारण रोकिएका अन्य सवारीसाधनमा पनि ठक्कर पर्दा दुर्घटना भयावह बनेको मन्त्रालयको भनाइ छ।
ठक्करपछि ट्रकमा आगलागी भएको र आगो अन्य सवारीसाधनमा समेत सल्किएको मन्त्रालयले जानकारी दिएको छ। घटनास्थलमा आपतकालीन तथा विशेषज्ञ टोली खटाएर उद्धार र राहतको काम गरिएको थियो।
घाइते भएका ३० मध्ये १५ जनालाई उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ भने बाँकी १५ जना अझै अस्पतालमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। घाइतेहरूमा युएई, ओमान, भारत, ब्राजिल, पाकिस्तान, जोर्डन र इजिप्टका नागरिक रहेको मन्त्रालयको भनाइ छ।
प्रहरीका अनुसार मृत्यु भएका १४ जनामा युएईका नागरिकसहित विभिन्न देशका नागरिक छन्। मृतकको पहिचान खुलाउन डीएनए परीक्षण भइरहेको प्रहरीले जनाएको छ।







