नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा बिहीबार कीर्तिपुरमा भएको खेलमा विराटनगरका कप्तान सन्दीप लामिछानेले पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिए। चार ओभर बलिङ गरेका उनले २७ रन मात्र खर्चिए र पोखराको इनिङ धराशयी पार्ने काम गरे। यही प्रदर्शनका आधारमा उनी म्यान अफ दी म्याच घोषित भए।
यो एनपीएलको यो सिजनको सर्वाधिक प्रभावशाली बलिङ प्रदर्शन हो भने लिग इतिहासको समग्र सूचीमा दोस्रो उत्कृष्ट आँकडा हो। यसअघि उनको बलिङमा लय फर्कन सकेको थिएन; राम्रो देखिए पनि विकेट भने पाइरहेका थिएनन्। छैटौं खेलमा आएर उनले त्यो खडेरी तोडे।
पोखरा एभेन्जर्स १७.५ ओभरमा १३२ रनमा अलआउट भयो। पोखराका लागि युवराज सामराले ४७ बलमा ८४ रनको आक्रामक पारी खेले पनि टोलीलाई ठूलो योगफलसम्म पुर्याउन सकेनन्। अघिल्लो खेलमा शतक प्रहार गरेका युवराजलाई सन्दीपले नै आफ्नो जालमा पारे।
सन्दीपले सुरुआती दुई ओभरमै १२ रन खर्चिएर तीन विकेट लिएर पोखराको ब्याटिङमा दबाब बनाएका थिए। पुनः बलिङमा फर्किएका उनले १५औं ओभरमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे। त्यस ओभरको पहिलो दुई बलमा १० रन खर्चिए पनि तेस्रो बलमा उनले विकेट निकाले। ह्याट्रिकको क्रममा युवराजसँगै कप्तान चमिका करुनारत्ने र किरण ठगुन्ना शून्यमा पभेलियन फर्किए।
इतिहासको दोस्रो उत्कृष्ट स्पेल
एकै इनिङमा ६ विकेट लिने खेलाडीको सूचीमा सन्दीप अब तीन जनासँगै छन्। यो सूचीमा शीर्ष स्थान काठमान्डु गोर्खाजका साहब आलमको नाममा छ, जसले चार ओभरमा २५ रन खर्चिएर ६ विकेट लिएका थिए। कर्णाली याक्सका विल बोसिस्टोले पनि ६ विकेट लिँदा २८ रन खर्चेका थिए; बोसिस्टो यो सिजन काठमान्डुबाट खेलिरहेका छन्। बोसिस्टोभन्दा एक रन कम खर्चिएकाले सन्दीप यो सूचीमा दोस्रो स्थानमा पुगेका हुन्। एनपीएलमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पनि उनी दोस्रो स्थानमा छन्।
१३३ रनको लक्ष्य पछ्याएको विराटनगरले ब्याटिङमा संघर्ष गर्नुपर्यो, तर इसुरु उडनाको अलराउन्ड प्रदर्शनले हार टार्यो। विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो र चार विकेटको जित हासिल गर्यो। पछिल्ला खेलमा घरेलु बलरले अपेक्षित प्रदर्शन गर्न नसक्दा विराटनगर दबाबमा थियो, सन्दीपको स्पेलले त्यो दबाब कम गरेको छ।
खेलपछिको पत्रकार सम्मेलनमा सन्दीपले आफ्नो क्षमताप्रति कुनै शंका नरहेको बताए। यसअघि पनि आफूले नराम्रो बलिङ नगरेको, तर विकेट मात्र नआएको उनको भनाइ थियो। राम्रो बलिङ गर्दा पनि विकेट नपर्नु खेलको स्वाभाविक पक्ष भएकाले त्यसबाट हतास नभई आफ्नो प्रक्रियामा विश्वास राखेको उनले उल्लेख गरे।
यो नतिजासँगै पोखरा एभेन्जर्स पाँचौं हार व्यहोर्दै प्लेअफको दौडबाट बाहिरिएको छ। लगातार तेस्रो सिजन प्लेअफमा पुग्न नसक्ने पोखरा एक मात्र टोली हो। यस सिजन सकिब अल हसनजस्ता स्टार खेलाडी टोलीमा भित्र्याउँदा पनि पोखराको प्रदर्शन सुधारिएन। अर्कोतर्फ विराटनगर भने प्लेअफ होडमा फर्किएको छ।
नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा चिनाएका सन्दीप एसोसिएट राष्ट्रहरूका उत्कृष्ट स्पिनरमध्ये एक मानिन्छन्। इन्डियन प्रिमियर लिग (आइपिएल) लगायत विश्वका धेरै फ्रेन्चाइज लिग खेलेका उनले एनपीएलमा आफ्नो प्रभाव फर्काएका छन्। भारतीय क्रिकेटर इर्फान पठानसँगको कुराकानी स्मरण गर्दै उनले आइपिएल फर्कने विषय आफ्नो हातमा नरहेको पठानलाई बताएको पनि जनाए।







