मुख्य सामग्रीमा जानुहोस्

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका व्यापारमन्त्री ताभियोबीच अन्ताल्यामा भेटवार्ता

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा भाग लिन अन्ताल्यामा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोसँग बुधबार द्विपक्षीय भेटवार्ता गरेका छन्…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका व्यापारमन्त्री ताभियोबीच अन्ताल्यामा भेटवार्ता
Online Khabar

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा भाग लिन टर्किएको अन्ताल्यामा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोसँग बुधबार द्विपक्षीय भेटवार्ता गरेका छन् ।

भेटका अवसरमा मन्त्री खनालले हालै नेपालमा आएको विनाशकारी जलवायुजन्य बाढीलगत्तै फिनल्यान्ड सरकार तथा त्यहाँका नागरिकले देखाएको ऐक्यबद्धता र तुरुन्त उपलब्ध गराएको मानवीय सहायताप्रति धन्यवाद ज्ञापन गरे ।

उनले विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणमा भइरहेका प्रयास, प्रभावित समुदायको पुनर्वास तथा जलवायु परिवर्तनले नेपालको जनजीवन, जीविकोपार्जन र हिमाली पारिस्थितिक प्रणालीमा पारिरहेको असमानुपातिक असरबारे जानकारी गराए ।

दुई मन्त्रीबीच कोप–३१ को प्रक्रियासहित आपसी चासोका विषयमा विचार आदानप्रदान भएको थियो । साथै नेपाल र फिनल्यान्डबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरे ।

भेटमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, पूर्वाधार विकास, वन संरक्षण, प्रविधि तथा जलवायु कार्यका क्षेत्रमा द्विपक्षीय सहयोग विस्तार गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ ।