मुख्य सामग्रीमा जानुहोस्

कोठा भाडाको जातीय विभेदविरुद्धको सत्याग्रह २०७ दिनमा, तिहारका बेला पनि माइतीघरमा दीपा नेपाली धर्नारत

सत्याग्रही दीपा नेपालीले थालेको ‘सरकार, कोठा खाली छ?’ आन्दोलन आज २०७ दिनमा पुगेको छ। तिहारको उल्लासकै बीच उनी माइतीघर मण्डलमा धर्नामा बसिन्। आफैंले जातीय विभेद भोगेको अनुभवपछि उनले यो अभियान सुरु गरेकी थिइन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

३पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:eKantipur
कोठा भाडाको जातीय विभेदविरुद्धको सत्याग्रह २०७ दिनमा, तिहारका बेला पनि माइतीघरमा दीपा नेपाली धर्नारत
eKantipur

जातीय तथा अन्य पहिचानका आधारमा कोठा भाडामा नपाइने विभेद अन्त्य गर्ने मागसहित सत्याग्रही दीपा नेपालीले सुरु गरेको ‘सरकार, कोठा खाली छ?’ आन्दोलन २०७ दिनमा पुगेको छ। देशभर तिहारको उल्लास चलिरहँदा उनी आज पनि माइतीघर मण्डलमा धर्नामा बसिन्। चाडपर्वका बीच उनको आन्दोलन रोकिएको छैन।

उच्च शिक्षा र अवसरको खोजीमा देशका विभिन्न ठाउँबाट काठमाडौं पुग्नेहरूले जातीय, क्षेत्रीय, शारीरिक अवस्था तथा लैंगिक पहिचानकै कारण डेरा पाउन नसक्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले उनले यो अभियान अघि बढाएकी हुन्। माग पूरा गराउन उनी लगातार धर्नामा बस्दै आएकी छन्।

आफैंले गृह मन्त्रालयमा कार्यरत एक सरकारी कर्मचारीको घरमा बस्ने क्रममा जातीय विभेद भोग्नुपरेको थियो। आफूजस्तै अरूले पनि त्यस्तो पीडा सहन नपरोस् भन्ने सोचका साथ आफूले आन्दोलन थालेको उनी बताउँछिन्।

एक्लैबाट सुरु भएको अभियान

आन्दोलनको सुरुवाती दिनमा माइतीघरमा उनी एक्लै उपस्थित हुन्थिन्। सरकारको ध्यानाकर्षण गराउन उनले जात र मानवता सम्बन्धी प्रश्न उठाइएका पोस्टर बोक्ने गरेकी थिइन्। दिउँसो माइतीघरमा गरेका गतिविधि उनी साँझ सामाजिक सञ्जालमा सार्वजनिक गर्थिन्।

समय बित्दै जाँदा अभियानमा दलित र गैरदलित, विद्यार्थी, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका व्यक्तिहरू जोडिँदै गए। गत साता पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आफैं माइतीघर पुगेर उनका माग जायज रहेको भन्दै समर्थन जनाएका थिए।