भारतको दक्षिण कश्मीरस्थित कुलगाम जिल्लामा बुधबार दिउँसो प्रहरी टोलीविरुद्ध गोली प्रहार भएको छ। यसमा केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का कम्तीमा तीन जवान घाइते भएका छन्।
सीआरपीएफका एक अधिकारीका अनुसार कुलगामको मीर बजार इलाकास्थित नौपोरा अखरान भन्ने स्थानमा दिउँसो मोटरसाइकलमा पुगेका अज्ञात व्यक्तिहरूले प्रहरी टोलीलाई निशाना बनाएर गोली चलाएका थिए। ती आक्रमणकारीको सुरक्षाकर्मीले प्रतिकार गरेको विवरण भने खुलाइएको छैन।
गोली चलेको आवाज सुनेपछि आसपासका पसलहरू बन्द भएका थिए भने बाटोमा हिँडिरहेका सर्वसाधारण ज्यान जोगाउन भागेका थिए। गोली प्रहार गरेपछि आक्रमणकारी घटनास्थलबाट फरार भएको अधिकारीहरूले जनाएका छन्।
घाइते तीनै जवानलाई उपचारका लागि अनन्तनागस्थित सरकारी मेडिकल कलेजमा भर्ना गरिएको थियो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बिलाल मुशर्रफ बन्देका अनुसार एक जवानको पेटमा, अर्काको हातमा र तेस्रोको खुट्टामा चोट लागेको छ। तीनै जनाको अवस्था स्थिर रहेको उनले जानकारी दिएका छन्।
अधिकारीहरूको अनुरोधमा एक जवानलाई भने थप उपचारका लागि श्रीनगरस्थित सैनिक आधार अस्पतालमा पठाइएको छ। घाइते जवानहरूको पहिचान भने सार्वजनिक गरिएको छैन। अहिलेसम्म कुनै पनि चरमपन्थी समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।
घटनालगत्तै सुरक्षाकर्मीले आक्रमणकारीको खोजीका लागि सो क्षेत्रमा तलासी अभियान सुरु गरेका छन्। प्रत्यक्षदर्शीका अनुसार दक्षिण कश्मीरका कुलगाम र अनन्तनाग जिल्लाका विभिन्न स्थानमा सुरक्षा जाँच चौकी राखेर आवतजावत गर्ने व्यक्तिहरूको तलासी भइरहेको छ।
दक्षिण कश्मीरमा चार महिनाअघि भएको आक्रमणमा जम्मु–कश्मीर प्रहरीका एक जवान तथा छत्तीसगढका दुई गैरस्थानीय प्रवासी मजदुरको गोली हानी हत्या गरिएको थियो।







