नेपाल प्रिमियर लिग क्रिकेटअन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको कम स्कोरको खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ। यो जितसँगै सुदूरपश्चिम र काठमाडौं गोर्खाजको प्लेअफ प्रवेश पनि पक्का भएको छ।
टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २० रन मात्र बनाएको थियो। जवाफी पारीमा जनकपुर १९ दशमलव ५ ओभरमै ९३ रनमा समेटियो र लक्ष्यसम्म पुग्न सकेन।
यो नतिजाले तालिकाको शीर्ष भागमा रहेका दुई टोलीको समीकरण स्पष्ट बनाएको छ। सुदूरपश्चिम र काठमाडौं दुवैको समान ८ अंक भए पनि राम्रो रन रेटका कारण काठमाडौं शीर्ष स्थानमा छ। सुदूरपश्चिमको यो लगातार तेस्रो विजय हो।
दबाबमा परेको जनकपुर
दुई वर्षअघि पहिलो सिजनको फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको थियो। तर मंगलबारको हारपछि भने जनकपुर प्रतियोगिताबाट बाहिरिने जोखिममा पुगेको छ। टोलीले ६ खेलमा जम्मा ४ अंक बटुलेको छ र अब एक खेल मात्र खेल्न बाँकी छ।
सुदूरपश्चिमका तीव्र गतिका ओपनिङ बलर स्कट कुग्लेन र हेमन्त धामीले पहिलो ६ ओभरको स्पेलमा कसिलो बलिङ गर्दै जनकपुरलाई सुरुदेखि नै दबाबमा राखेका थिए। कुग्लेनले खराब फर्ममा रहेका अनिल साहलाई २ रनमा र हेमन्तले आदित्य महतालाई १० रनमा आउट गरेका थिए।







