साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ प्रवेश गर्ने पहिलो टिम बनेको छ । बिहीबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै लुम्बिनीले लिग चरणको एक खेल बाँकी रहँदै अन्तिम चारको यात्रा पक्का गरेको हो ।
कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले २० बल बाँकी छँदै ६ विकेटको क्षतिमा भेट्टाएको हो । यो जितसँगै लुम्बिनीले ६ खेलबाट ९ अंक जोडेर अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा लुम्बिनीले विराटनगर किंग्ससँग खेल्नेछ ।
अर्कोतर्फ यो हारले कर्णालीको प्लेअफ सम्भावना कमजोर बनाएको छ । सुरुका दुई खेल जितेको कर्णाली त्यसपछि लगातार चार खेलमा पराजित भएको छ । ६ खेलबाट ४ अंक जोडेको कर्णाली अंकतालिकाको सातौं स्थानमा छ ।
सर्टको ४६ रनमै लुम्बिनीको जित
लक्ष्य पछ्याउने क्रममा लुम्बिनीको सुरुवात राम्रो भएन । आसिफ पौडेल र कप्तान रोहित पौडेल समान १ रन तथा सन्दीप जोरा ४ रनमा फर्किएपछि टिम १९ रनमै ३ विकेट गुमाएर दबाबमा परेको थियो । त्यसपछि डार्शी सर्टले एक छेउ सम्हाल्दै इनिङ्सलाई अघि बढाए ।
सर्ट र निरोशन डिकवेलाबीच चौथो विकेटका लागि ४१ रनको साझेदारी भयो । डिकवेलाले १३ बलमा २ चौकासहित १६ रन बनाए । उनी आउट भएपछि सर्टले दिलिप नाथसँग मिलेर इनिङ्स अगाडि बढाए । सर्ट १४औं ओभरमा आउट हुनुअघि ३४ बलमा ६ चौका र १ छक्कासहित ४६ रन बनाए, अर्थात् उनी अर्धशतकबाट ४ रनले चुके ।
शमिम हुसेन ५ रनमा आउट भए पनि दिलिप नाथले अन्त्यसम्म टिकेर टिमलाई जित दिलाए । उनले २७ बलमा ४ चौकासहित अविजित २८ रन बनाए र हुसेन तलतको बलमा विजयी चौका प्रहार गरे ।
वाटको चार विकेट, कर्णाली १०५ मा सीमित
टस जितेर पहिले ब्याटिङ रोजेको कर्णाली १९.२ ओभरमा सबै विकेट गुमाएर १०५ रनमा अलआउट भएको थियो । कर्णालीका लागि सोमपाल कामीले १८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २८ रन बनाए । हुसेन तलतले २२ बलमा २ चौका र १ छक्कासहित २४ रन, गुल्सन झाले १३ रन तथा पवन सर्राफले २४ बल खेलेर १२ रन जोडे ।
बाँकी ब्याटर दोहोरो अंकमा पुग्न सकेनन् । यस सिजन पहिलो खेल खेल्दै ओपनिङ गरेका दीपेन्द्र रावत खाता नखोली आउट भए । अरिफुल इस्लाम र दीपक डुम्रे समान ४, नयाँ कप्तान डेभिड मिलर ५, मार्क वाट २ र नन्दन यादव ३ रन बनाएर फर्किए । १५ रनमै ४ विकेट गुमाएको कर्णालीलाई पवन र सोमपालको ४० रनको साझेदारीले सम्हाल्ने प्रयास गरे पनि नियमित अन्तरालमा विकेट झर्दा रन गति रोकियो ।
लुम्बिनीका लागि अभिशेष गौतम, डार्शी सर्ट, किशोर महतो र कप्तान रोहित पौडेलले समान २-२ विकेट लिए भने रुबेन ट्रम्पलम्यान र शेर मल्लले १-१ विकेट हात पारे । कर्णालीका मार्क वाटले भने ४ ओभरमा एक मेडनसहित १२ रन मात्र खर्चिएर ४ विकेट लिएका थिए । पवन सर्राफ र हुसेन तलतले १-१ विकेट लिए ।







