चितवनमा हुर्कंदै गरेकी हात्तीको छावा पुन्टुरीले बिहीबार आफ्नो दोस्रो जन्मदिन मनाएकी छन्। फलफूल, केक र नेपालको राष्ट्रिय झण्डाले सजिएको उनको उत्सवमा शुभचिन्तकहरू जम्मा भएका थिए।
२४ महिना पुगेकी पुन्टुरीको निधारमा अबिरको टीका लगाइएको थियो भने शरीरमा राष्ट्रिय झण्डा ओढाइएको थियो। उनको वरिपरि केरा, स्याउ, आँप र खरबुजालगायतका फलफूल सजाएर राखिएको थियो भने ठ्याक्कै अगाडिको टेबलमा जन्मदिनको केक राखिएको थियो। आमासँगै उभिएकी पुन्टुरीलाई कहिले मनपर्ने फलफूल खुवाइयो, कहिले मायाले सुम्सुम्याइयो। केहीबेरपछि केक काटेर उत्सव मनाइयो।
दुई वर्षअघि कात्तिक २६ गते बिहान ७ बजे जन्मिएकी पुन्टुरीलाई भेट्न कतिपयले फलफूल त कतिपयले उनका लागि विशेष कपडा लिएर आएका थिए।
छोराको बोलीबाट जुरेको नाम
पुन्टुरीका बुबा गोविन्दगज र आमा लक्ष्मीकली हुन्। उनको पहिलेको नाम दुर्गाकाली थियो, तर कन्टेन्ट क्रिएटर पुरुषोत्तम गिरीले मायाले पुन्टुरी भनेर बोलाउन थाले। हात्तीका आनीबानीबारे भिडियो बनाउँदै आएका गिरी पुन्टुरीसँग निकै नजिक छन्।
गिरीका छोरा सानो हुँदा ‘पुन्टुङ पुन्टुङ’ भन्दै हिँड्ने गर्दथे। एक दिन घरअगाडिको बाटो हुँदै पुन्टुरी आइरहेकी बेला छोराले ‘बाबा, पुन्टुरी हात्ती आयो’ भनेपछि आफूलाई पनि त्यही नाम असाध्यै मन परेको गिरी सम्झन्छन्। त्यसपछि उनले ‘मायाकी खानी पुन्टुरी रानी’ भनेर बोलाउन थाले। एउटा बालकले बोलेको नाम अहिले धेरैको मुखमा झुन्डिएको छ र अरू हात्तीका छावालाई समेत पुन्टुरी भन्ने गरिएको छ।
झण्डाले बोलेको सन्देश
जन्मदिनमा राष्ट्रिय झण्डा ओढाउनुको उद्देश्य हात्तीप्रतिको माया देखाउनु मात्र नभएको गिरी बताउँछन्। हात्ती पनि नेपालको प्राकृतिक सम्पदा र पर्यटनसँग जोडिएका जीव भएकाले उनीहरू नेपाली पहिचानकै हिस्सा हुन् भन्ने सन्देश दिन झण्डाको प्रयोग गरिएको उनको भनाइ छ।
हात्तीलाई पर्यटकीय आकर्षणका रूपमा मात्र होइन, माया र संरक्षण आवश्यक पर्ने जीवका रूपमा बुझ्नुपर्ने उनको धारणा छ। हात्ती पर्यटनलाई तत्काल बन्द गर्नुभन्दा त्यसलाई सुधार गर्दै हात्तीको हितलाई प्राथमिकतामा राखेर अघि बढाउन सकिने उनी बताउँछन्।
हरेक महिनाको २६ गते उत्सव
गिरीले पुन्टुरी जन्मिएदेखि नै जन्मदिन मनाउँदै आएका छन् र गत वर्षदेखि यो अवसर विशेष रूपमा मनाउन थालिएको हो। हरेक महिनाको २६ गते उनको उमेर एक महिना बढेको अवसरमा फलफूल खुवाएर, नुहाइदिएर र शरीरमा तेल लगाएर शृंगार गरिन्छ।
जन्मदिनमा मौसमअनुसारका फलफूल जुटाइन्छ। यसपालि जापानमा बस्ने शुभचिन्तक पीकेले पुन्टुरीका लागि कपडा प्रायोजन गरेका थिए र त्यही कपडामा उनलाई सजाइएको थियो। पीकेले बेलाबखतमा गणेशको स्वरूप भन्दै फलफूलका लागि नगदसमेत दिने गरेको गिरी बताउँछन्।
मिलनसार पुन्टुरी र उनकी ‘सानी आमा’
पुन्टुरी मानिस देख्नेबित्तिकै भागेर पर जाँदिनन्; नजिकै आएर चासोपूर्वक हेर्छिन् र सहजै घुलमिल हुन्छिन्। उनलाई नमस्ते गर्न र लामो सुँडले माला लगाइदिन पनि सिकाइएको छ। यही मिलनसार र चञ्चल स्वभावले उनलाई अरूभन्दा फरक बनाएको छ।
उनी जन्म दिने आमा लक्ष्मीकलीबाहेक अर्की लक्ष्मीकलीसँग पनि उत्तिकै नजिक छिन्, जसलाई गिरी उनकी ‘सानी आमा’ भन्छन्। पुन्टुरी कतै गए सानी आमा उनलाई खोज्दै बेचैन हुने गरेको उनी बताउँछन्। हात्ती स्वभावैले सामाजिक जीव भएकाले समूहसँगको सामीप्य र सुरक्षित वातावरण उनीहरूका लागि महत्त्वपूर्ण हुन्छ।
तालिम र सफारीको तयारी
हात्तीका छावालाई २४ महिना पुगेपछि बिस्तारै तालिम दिन थालिन्छ। पुन्टुरी अझै आमाको दूध पिउँछिन् र आमासँगै हिँडेर खानेकुरा खोज्ने तथा वातावरण बुझ्नेजस्ता व्यवहार सिकिरहेकी छन्। त्यसैले आमाबाट एकैपटक अलग्याएर तालिम दिइने छैन; केही दूरी कायम गर्दै नयाँ कुरा सिकाउने तयारी छ।
पुन्टुरी अहिले चितवनको बाघमारा सामुदायिक वन नजिक बस्छिन्। जंगल सफारी लजका सञ्चालक हरिभक्त घिमिरेको स्वामित्वमा रहेकी उनको हेरचाहको व्यवस्था मिलाइएको छ। तालिम पूरा भएपछि बाघमारा, कुमरोज र चित्रसेन सामुदायिक वनमा सञ्चालन हुने हात्ती सफारीमा उनलाई बिस्तारै तयार पारिनेछ।
उनका बुबा गोविन्दगज भने घरपालुवा होइनन्, जंगली हात्ती हुन्। उनी पोथी हात्तीसँग प्रजननका लागि बस्ती आसपास आउने गरेको गिरी बताउँछन्। गोविन्दगजसँगै सुबेदीगजलगायत अन्य हात्ती पनि यस क्षेत्रमा रहेका सरकारी पोथी हात्तीसँग संसर्गका लागि आउने गरेका छन्।
गिरीका अनुसार हात्तीलाई हरियो घाँस, काँस, पराल तथा पीपल, बर र स्वामीजस्ता रुखका हाँगापात मन पर्छ भने धानलगायतका अन्न पनि खुवाइन्छ। गर्मीमा उनीहरू घण्टौं पानीमा रमाउन रुचाउँछन्, जुन शरीरको तापक्रम सन्तुलनमा राख्न पनि आवश्यक हुन्छ। लापरवाहीले हात्तीको ज्यान जाने क्रममा उनले रोनाल्डो नामको हात्ती राति चर्दै बिजुलीको तार चपाउँदा करेन्ट लागेर मृत्यु भएको प्रसंग पनि सम्झिए।
पुन्टुरी दिदी बन्ने तयारी
पुन्टुरीको परिवारमा नयाँ सदस्य थपिने तयारी छ। गोविन्दगजसँगको संसर्गपछि बिजुलीकली प्रसव पीडामा छिन् र १० दिनअघि नै पहिलो बेथाको चरण सुरु भएको गिरी बताउँछन्। हात्तीको प्रसव प्रक्रिया लामो हुन सक्ने भएकाले केही दिनभित्रै सन्तान जन्मिने अपेक्षा गरिएको छ। जन्मिने छावा पुन्टुरीको भाइ वा बहिनी हुनेछ र उनी दिदी बन्नेछिन्।







