मुख्य सामग्रीमा जानुहोस्

सोनिया गान्धीको संस्मरणमा प्रकाशक फेरिएको खुलासा : सम्झौताबाट पछि हट्ने पक्ष पेन्गुइन नै रहेको दाबी

सोनिया गान्धीको संस्मरण ‘बिलङिङ: अ जर्नी अफ लभ’ प्रकाशनअघि नै प्रकाशक परिवर्तन भएको विषयमा नयाँ खुलासा भएको छ । पेन्गुइन र्‍यान्डम हाउसले छलफल सामान्य भएको बताए पनि गान्धीले भने सम्झौताबाट प्रकाशक नै पछि हटेको बताएकी छन्…

विश्वपत्र संवाददाता

· ३ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
सोनिया गान्धीको संस्मरणमा प्रकाशक फेरिएको खुलासा : सम्झौताबाट पछि हट्ने पक्ष पेन्गुइन नै रहेको दाबी
Online Khabar

भारतीय राष्ट्रिय कांग्रेसकी पूर्व अध्यक्ष सोनिया गान्धीको संस्मरण ‘बिलङिङ: अ जर्नी अफ लभ’ प्रकाशनको अन्तिम चरणमा पुगेर प्रकाशक फेरिनुको कारण सार्वजनिक भएको छ । पाण्डुलिपिमा केही परिवर्तन गर्न र केही अंश हटाउन दबाब बढेपछि पेन्गुइन र्‍यान्डम हाउससँगको सहकार्य अन्त्य गरिएको र पुस्तक हार्परकोलिन्समार्फत प्रकाशित गरिएको विवरण आएको छ ।

सन् २०२६ अगस्ट २८ मा द इन्डियन एक्सप्रेसले प्रकाशित गरेको रिपोर्टमा यो प्रसङ्ग उल्लेख गरिएको हो । पेन्गुइन र्‍यान्डम हाउसले भने पछि विज्ञप्ति जारी गर्दै पाण्डुलिपिबारे भएका छलफलहरू सामान्य प्रकृतिका रहेको र आफूहरू पुस्तक प्रकाशन गर्न इच्छुक तथा उत्सुक नै रहेको दाबी गरेको थियो ।

तर गान्धी आफैंले प्रकाशनपूर्व लन्डनको द गार्जियन पत्रिकालाई दिएको अन्तर्वार्तामा यसको भिन्न व्याख्या गरेकी छन् । उनका अनुसार सम्झौताबाट पछि हट्ने पक्ष पेन्गुइन नै थियो, किनकि प्रकाशक सरकारविरुद्ध परेका कडा टिप्पणीप्रति असहज बन्दै गएको थियो ।

गतिरोधका दुई कारण

संस्मरणको दोस्रो खण्डमा नरेन्द्र मोदी सरकार र राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) को सघन आलोचना गरिएको छ । यसैगरी सीमामा चीनको अतिक्रमणसम्बन्धी टिप्पणीले पनि मुख्य गतिरोध सिर्जना गरेको र अन्ततः पेन्गुइनसँगको सहकार्य टुटेको बताइएको छ ।

सात खण्डमा विभाजित पुस्तकका धेरै अंशमा सरकारको आलोचना दोहोरिएको छ, तर चिनियाँ अतिक्रमणको प्रसङ्ग भने उत्तरार्धमा आउँछ । संसद्‌मा सत्तारुढ दलले अत्यन्त महत्त्वपूर्ण विषय छल्ने गरेको उनको आरोप छ, जसमा सीमा क्षेत्रको केही भूभागमा चीनको कब्जा, सङ्घीय सिद्धान्तमाथि हस्तक्षेप गर्ने कानुन, अल्पसङ्ख्यकको अधिकार, नागरिकको गोपनीयता र राष्ट्रिय अखण्डतासँग जोडिएका अन्य मुद्दा पर्छन् ।

पुलवामा, नोटबन्दी र जीएसटीमा प्रहार

सन् २०१९ को पुलवामा आतङ्कवादी आक्रमणलाई पनि उनले पुस्तकमा विशेष स्थान दिएकी छन्, जसमा ४० जना भारतीय अर्धसैनिक जवानको ज्यान गएको थियो । सम्भावित आक्रमणबारे पूर्वसूचना दिने गुप्तचर सूचनाहरू सरकारले बेवास्ता गरेको र जवानहरूलाई सुरक्षित रूपमा फर्काउन माग गरिएको हवाई यातायात उपलब्ध नगराएको उनको आरोप छ । आजसम्म पनि सरकारले यसबारे स्पष्ट व्याख्या गर्न नसकेको उनले उल्लेख गरेकी छन् ।

यसैगरी सन् २०१६ को नोटबन्दीका घोषित उद्देश्यमध्ये कुनै पनि पूरा नभएको, एकै झट्कामा व्यापार व्यवसाय अस्तव्यस्त भएको र अर्थतन्त्रका महत्त्वपूर्ण क्षेत्र बन्द भएको उनको दाबी छ । जटिल र बहुस्तरीय कर प्रणाली जीएसटी लागू भएपछि सर्वसाधारणको कष्ट अझ बढेको र अर्थतन्त्रको मेरुदण्डमै नकारात्मक असर परेको उनले लेखेकी छन् ।

वैचारिक भिन्नता र प्रचार संयन्त्रको आरोप

मोदी र आफू पूर्ण रूपमा फरक वैचारिक धरातल तथा पृष्ठभूमिबाट आएको गान्धीले स्वीकार गरेकी छन् । मोदीको भारतसम्बन्धी परिकल्पना आरएसएसको विचारधारा र उनको आफ्नै हुर्काइको अनुभवबाट निर्मित भएको उनको भनाइ छ । एनडीए सरकार शासनका नयाँ विचार ल्याउन असफल भएको र कङ्ग्रेस नेतृत्वको यूपीए शासनकालका कम्तीमा ३० वटा कार्यक्रमलाई नयाँ नाम दिएर सीमित दायरामा लागू गरेको पनि उनले दाबी गरेकी छन् ।

कङ्ग्रेस र सहयोगी दलका गरी नौ वटा निर्वाचित प्रदेश सरकार अनुपयुक्त तथा गोप्य तरिकाले ढालिएको र त्यसले आफूलाई हरेक पटक आक्रोश र निराशाले भरिदिने गरेको उनले लेखेकी छन् । आरएसएसको प्रचार संयन्त्र दशकौँदेखि निरन्तर सक्रिय रहेको र सामाजिक सञ्जालको विस्तारसँगै त्यसको गति झन् बढेको उनको ठहर छ । एआईबाट बनाइएका सामग्री र डिपफेकले यस्ता भ्रामक कथाहरूलाई अझ विश्वसनीय देखाउने सम्भावना रहेको उनले औंल्याएकी छन् ।

आफू भाजपाको स्वाभाविक निसाना बनेको उल्लेख गर्दै उनले क्याबरे नर्तकी, मोनिका लेविन्स्की र जासुस भनिएको जस्ता व्यक्तिगत आक्रमण भोग्नुपरेको विवरण पनि पुस्तकमा राखेकी छन् । सन् २०१९ को निर्वाचनताका जनमत कङ्ग्रेसतर्फ मोडिँदै गर्दा भाजपाले मानवीय एजेन्ट, बटहरूको साइबर सेना र ठूलो आर्थिक स्रोत भएको साइबर अस्त्र भण्डार विकास गरिसकेको उनको आरोप छ । मूलधारका सञ्चारमाध्यम र राज्यका निकाय पनि सत्ताको नियन्त्रणमा रहेको उनले बताएकी छन् ।

पुस्तकको अन्तमा उनले प्रभुत्व जमाउने तथा एउटै धर्म र एउटै भाषा थोपर्ने आरएसएसको दीर्घकालीन योजनाको निश्चित रूपमा प्रतिरोध हुनेमा आफूलाई कुनै शङ्का नरहेको स्पष्ट पारेकी छन् । (एजेन्सीहरूको सहयोगमा)