चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसदहरूको टोली ११ दिने चीन भ्रमणमा जाने भएको छ । महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा जान लागेको उक्त टोलीको भ्रमण कार्यतालिका निश्चित भइसकेको छ र यात्रा आइतबार अर्थात् कात्तिक २९ गते सुरु हुनेछ ।
प्रतिनिधिमण्डल पहिलो गन्तव्यका रूपमा सिचुवान प्रान्तको चेङ्दुमा ओर्लनेछ । त्यसपछि सुरु हुने अध्ययन भ्रमण अन्ततः बेइजिङ पुगेर टुंगिनेछ । चेङ्दु पुगेको भोलिपल्टदेखि नै औपचारिक कार्यक्रम सुरु हुने तालिकामा उल्लेख छ ।
के–के छन् कार्यक्रम?
नोभेम्बर १६ मा टोलीले सिचुवानमा रहेको हाइटेक इन्टरप्राइजेज एण्ड इन्डस्ट्रियल पार्कको अवलोकन गर्नेछ । सोही दिन सीपीसी पार्टी स्कुलका नेतृत्वसँग सांसदहरूले विचार आदानप्रदान गर्ने कार्यक्रम छ, जहाँ पार्टीको धारणा महामन्त्री आचार्यले प्रस्तुत गर्नेछन् ।
भोलिपल्ट अर्थात् नोभेम्बर १७ मा टोली वेन्चुआन पुगी भूकम्पपछिको पुनर्निर्माणका विषयमा जानकारी लिनेछ । सन् २००८ मा यो क्षेत्रमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो, जसमा ८७ हजारभन्दा बढीको ज्यान गएको थियो । नोभेम्बर १८ मा चेङ्दुस्थित अनुसन्धानमा आधारित जायन्ट पाण्डा ब्रिडिङ केन्द्रको अध्ययन भ्रमण गरिनेछ भने सोही दिन सिचुवान विश्वविद्यालयमा विपद् प्रतिकार्य व्यवस्थापनसम्बन्धी अन्तर्क्रियामा सहभागी हुने तालिका छ ।
नोभेम्बर १९ मा टोली जेजियाङ प्रान्ततर्फ प्रस्थान गर्नेछ । भोलिपल्ट रोबोटिक्स प्रविधि क्षेत्रको अवलोकन गरिनेछ भने नोभेम्बर २० मा औद्योगिक पार्क भ्रमणको कार्यक्रम छ । नोभेम्बर २१ मा तीव्र गतिको रेलमार्फत यीवू अन्तर्राष्ट्रिय ट्रेड सेन्टर पुगिने र सोही दिन ग्रामीण शासन सञ्चालन तथा तल्लो तहमा पार्टी निर्माणबारे बुझ्ने कार्यक्रम रहेको छ ।
नोभेम्बर २२ मा जेजियाङ विश्वविद्यालयमा ‘थिंक ट्यांक’ विकासबारे अवलोकन गरिनेछ । नोभेम्बर २३ मा जिन्ह्वामा आयोजना हुने चीन–नेपाल ‘इन्टरप्राइजेज म्याचमेकिङ कन्फ्रेन्स’ मा उद्यमीहरूसँगै रास्वपा प्रतिनिधिमण्डल सहभागी हुनेछ, जहाँ महामन्त्री आचार्यले आफ्ना विचार राख्नेछन् ।
नोभेम्बर २४ मा टोली बेइजिङ उड्नेछ । त्यहाँ सीपीसीका उच्च तहका नेताहरूसँग भेटवार्ता, सीपीसीका विज्ञहरूसँग छलफल तथा पार्टीको ऐतिहासिक संग्रहालय अवलोकनको तालिका छ । ११ दिनको भ्रमण सकेर टोली नोभेम्बर २६ मा स्वदेश फर्कनेछ ।
टोलीमा को–को छन्?
महामन्त्री आचार्यको नेतृत्वमा जाने प्रतिनिधिमण्डलमा निम्नलिखित नेता तथा सांसदहरू समावेश छन् :
सहमहामन्त्री हरि ढकाल
संसदीय दलका उपनेता गणेश पराजुली
प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी
सांसद लिमा अधिकारी
सांसद समीक्षा बाँस्कोटा
सांसद सागर ढकाल
सांसद डा. आनन्दबहादुर चन्द
सांसद सुशान्त वैदिक
सांसद रिमा विश्वकर्मा
सांसद डा. धनञ्जय रेग्मी
सांसद श्रीराम न्यौपाने
सांसद डा. राम लामा
सांसद गजला शमिम मिकरानी
सांसद पुनम अग्रवाल
सांसद रत्ना थापा
सांसद डा. सुजाता तामाङ
सांसद पुष्पाकुमारी चौधरी
सांसद अरविन्द शाह
सांसद रमेश सापकोटा
यसअघि शुक्रबार टोलीले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेको थियो ।







