कात्तिक २७, भक्तपुर । भक्तपुरमा बसको ठक्करबाट मोटरसाइकलमा पछाडि सवार एक किशोरीको मृत्यु भएको छ । काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बसले सोही दिशाबाट अघि बढिरहेको मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीया भूमिका राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
बा०१–००५ख ९६९७ नम्बरको बसले बागमती प्रदेशको ०२–००१–२३६६ नम्बर प्लेट भएको मोटरसाइकलमाथि ठक्कर प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिए । उनका अनुसार ठक्कर लागेर मोटरसाइकलको पछाडि बसेकी भूमिकाको घटनास्थलमै ज्यान गएको हो ।
घटनामा मोटरसाइकल चालक घाइते भएका छन् । खोटाङ घर भएका रोशन राई मोटरसाइकल चलाइरहेका बेला बसको ठक्करबाट घाइते भएका प्रहरीले बताएको छ । घाइतेको उपचारबारे थप विवरण प्रहरीले खुलाएको छैन ।
दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।







