तनहुँको शुक्लागण्डकी नगरपालिका–११ गोटपानीमा बिहीबार दिउँसो बलेरो जिप सडकबाट तल खस्दा चालकसहित ६ जना घाइते भएका छन्। दुलेगौंडाबाट स्याङ्जाको चिसापानीतर्फ गइरहेको ग १ ज ७४१० नम्बरको उक्त जिप दुलेगौंडा–चिसापानी पक्की सडक खण्डबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
कात्तिक २६ गते दिउँसो करिब ४:१५ बजे सो दुर्घटना भएको हो। जिपमा चालकसहित सात जना सवार रहेका थिए, जसमध्ये एक जना यात्रु सकुशल रहेको र बाँकी सबै घाइते भएको प्रहरीको भनाइ छ।
घाइतेहरूको दुलेगौंडास्थित तनहुँ सेवा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा परेका सबै व्यक्ति स्याङ्जाको हरिनास गाउँपालिका–१ खैरिकोटका स्थानीय बासिन्दा हुन्।
घाइते हुनेहरू यी हुन्:
शिवबहादुर गुरुङ, ३२ वर्ष (जिप चालक)
अमरबहादुर गुरुङ, २९ वर्ष
रनबहादुर गुरुङ, ९४ वर्ष
निशा राना, ३९ वर्ष
चन्द्रबहादुर गुरुङ, ४८ वर्ष
मिलन गुरुङ, ३४ वर्ष
दुर्घटनाको यकिन कारण भने अझै खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







