मुख्य सामग्रीमा जानुहोस्

भीमफेदी हायस दुर्घटनाका १३ मृतकका शव सुन्दरपुरमा, लखन्देही नदी किनारमा सामूहिक अन्त्येष्टि गरिँदै

मकवानपुरको चिसापानीगढीमा बिहीबार बिहान भएको हायस दुर्घटनामा सर्लाहीको चक्रघट्टा–४ सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो । शुक्रबार साँझ शव गाउँ पुर्‍याइएपछि सामूहिक रूपमा अन्तिम संस्कारको तयारी भइरहेको छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

१पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
भीमफेदी हायस दुर्घटनाका १३ मृतकका शव सुन्दरपुरमा, लखन्देही नदी किनारमा सामूहिक अन्त्येष्टि गरिँदै
Online Khabar

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा विद्युतीय हायस दुर्घटनामा ज्यान गुमाएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव शुक्रबार साँझ गाउँमा ल्याइएको छ । पोस्टमार्टम सकिएपछि आफन्तले शव बुझेर सुन्दरपुरतर्फ लगेका हुन् ।

बिहीबार बिहान पौने ६ बजेतिर काठमाडौंबाट छठ पर्व मनाउन सर्लाही फर्कँदै गरेको हायस चिसापानीगढीमा सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो । उक्त घटनामा सुन्दरपुरका १३ जना र कविलासी नगरपालिका–८ अगर्वाका हायस चालक ३० वर्षीय रवीशङ्करकुमार मण्डल गरी १४ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परेका अन्य ६ जना घाइते भएका छन् ।

उचित राहत र क्षतिपूर्तिको सुनिश्चितता नभएसम्म शव नबुझ्ने अडान पीडित परिवारले लिएका थिए । सोही कारण शव केही समय हेटौंडा अस्पतालमा राखिएको थियो । मृतकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति, परिवारका एक सदस्यलाई रोजगारी र घाइतेको उपचार खर्च सरकारले बेहोर्नुपर्ने माग परिवारहरूले राखेका थिए ।

छानबिन समितिसँग सहमति, शव हस्तान्तरण

सरकारले गठन गरेको दुर्घटना छानबिन समिति र पीडित परिवारबीच सहमति भएपछि शुक्रबार शव बुझ्ने प्रक्रिया अघि बढेको हो । सहमतिअनुसार कानुनबमोजिम पाउने राहत तथा क्षतिपूर्ति तत्काल उपलब्ध गराउन सरकारले पहल गर्ने भएको छ ।

थप राहत तथा क्षतिपूर्तिको व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा औपचारिक आग्रह गर्ने सहमति बनेको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले जानकारी दिए ।

एउटै गाउँमा शोक, सामूहिक अन्त्येष्टिको तयारी

एउटै बस्तीका १३ जनाको ज्यान गएपछि सुन्दरपुरमा शोक छाएको छ र सामूहिक अन्त्येष्टिको तयारी भइरहेको छ । मृतक सबैको शुक्रबार राति नै एकै स्थानमा धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार अन्तिम संस्कार गरिने मृतकका छिमेकी नितेश यादवले बताए ।

गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवका अनुसार मृतक १३ जनाको गाउँको पश्चिमतर्फ रहेको लखन्देही नदीमा सामूहिक अन्त्येष्टि गरिनेछ ।

यसैबीच चक्रघट्टा गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको थियो भने मृतकका परिवारलाई जनही ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । मधेस प्रदेश सरकारले पनि प्रत्येक मृतक परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।