दुग्ध विकास संस्थान (डिडिसी) मा भएको आर्थिक अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीनकिशोर शर्मालाई पक्राउ गरेको छ । केन्द्रीय अन्वेषण ब्युरो (सीआईबी) ले २७ कात्तिकमा शर्मालाई नियन्त्रणमा लिई सार्वजनिक गरेको हो ।
सर्लाहीका ४५ वर्षीय शर्मालाई जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएपछि ब्युरोले पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराका अनुसार नेपाल सरकारको स्वामित्वमा रहेको संस्थानका तत्कालीन महाप्रबन्धक तथा उच्च तहका कर्मचारीको संलग्नतामा गैरकानुनी आर्थिक लाभ लिइई संस्थानलाई ठूलो आर्थिक क्षति पुर्याइएको भन्ने उजुरीका आधारमा शर्मा पक्राउ परेका हुन् ।
ब्युरोको प्रारम्भिक अनुसन्धानमा संस्थानलाई रु १२ करोड १३ लाख ४३ हजार ५३० बराबरको आर्थिक क्षति पुगेको र सोही रकम गैरकानुनी रूपमा लाभ लिइएको खुलेको छ ।
सङ्गठित सञ्जालमार्फत क्षति
तत्कालीन महाप्रबन्धक, प्रशासनिक उच्च तहका अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीले पूर्वयोजनाअनुसार आपसी मिलेमतो गरी विभिन्न समूह बनाई सङ्गठित सञ्जालमार्फत संस्थानलाई आर्थिक नोक्सानी पुर्याएको प्रारम्भिक अनुसन्धानबाट देखिएको ब्युरोले जनाएको छ ।
शर्माविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को आपराधिक विश्वासघात गर्न नहुने कसुर तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको प्रवक्ता जबराले जानकारी दिए । यस प्रकरणमा यसअघि अनुसन्धानका लागि आठ जनालाई पक्राउ गरिसकिएको ब्युरोले जनाएको छ ।







