नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारप्रति नागरिकको अपेक्षा धेरै रहेको उल्लेख गर्दै जनहितलाई केन्द्रमा राखेर काम गर्न सरकारलाई सुझाव दिएका छन्। झण्डै दुई तिहाइको समर्थन रहेको सरकारबाट जनताले धेरै आशा गरेकाले त्यसअनुसारको काम देखिनुपर्नेमा उनले जोर दिए।
आइतबार वालिङमा नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ ले आयोजना गरेको पदस्थापन तथा प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले नागरिकसँग प्रत्यक्ष जोडिएका विषयमा सरकारले पहल गर्नुपर्ने बताए। सत्तासँगै रहे पनि बाहिर रहे पनि जनताका सरोकारमा सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।
कांग्रेस सरकारमा सहभागी नभए पनि बाहिर बसेर सकारात्मक सहयोग गर्न तयार रहेको उनले स्पष्ट पारे। शासन व्यवस्था विधि र प्रक्रियाबाट सञ्चालन हुनुपर्ने र संविधानभन्दा माथि कोही नरहेकाले त्यसको कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने उनले औँल्याए। यही कुरा आफ्नो पार्टीको पनि चाहना रहेको महामन्त्री पौडेलले जनाए।
कार्यक्रममा उनले पार्टी सभापति गगनकुमार थापामाथि लगाइएको आरोप मिथ्या रहेको भन्दै त्यसको छानबिन गर्न माग गरे। पार्टीमा जिम्मेवारी पाएका र नपाएका सबैले समान जिम्मेवारीबोधका साथ संगठनलाई अझ बलियो बनाउँदै अगाडि बढ्नुपर्ने निर्देशन पनि उनले नेता तथा कार्यकर्तालाई दिए।
सोही अवसरमा महामन्त्री पौडेलले स्याङ्जा क्षेत्र नं २ (क) का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गरे। कार्यक्रममा केन्द्रीय सदस्यहरू सरस्वती अर्याल तिवारी र कल्पना तिवारी, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा तथा नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापालगायतले पार्टी संगठन विस्तारमा जोड दिएका थिए।







