मुख्य सामग्रीमा जानुहोस्

अढाई दशकपछि द्वन्द्वकालीन यौन हिंसाको पीडा बाहिर ल्याइन् शुक्लाफाँटाकी एक महिलाले

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाकी ५५ वर्षीया एक महिलाले सशस्त्र द्वन्द्वका बेला आफूमाथि भएको यौन हिंसा करिब अढाई दशकसम्म भित्रै राखिन् । यो घटना उनले यसअघि कहीँ कसैसँग खोलेकी थिइनन् । डर र अब भन्नुको अर्थ के हुन्छ भन्ने…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

१पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:eKantipur
अढाई दशकपछि द्वन्द्वकालीन यौन हिंसाको पीडा बाहिर ल्याइन् शुक्लाफाँटाकी एक महिलाले
eKantipur

कञ्चनपुर। सशस्त्र द्वन्द्वका क्रममा आफूमाथि भएको यौन हिंसाको पीडा शुक्लाफाँटा नगरपालिकाकी ५५ वर्षीया एक महिलाले करिब अढाई दशकपछि पहिलोपटक बाहिर ल्याएकी छन् । नाम परिवर्तन गरिएकी रामकुमारीले यो घटना यसअघि कतै पनि खोलेकी थिइनन् । सुरुमा ती घटना सम्झँदा डर लाग्ने गरेको र पछि पनि अहिले भनेर के हुने हो भन्ने लागेकाले मनमै थामेर बसेको उनको भनाइ छ ।

उनका अनुसार घटना २०५८ भदौको हो । बाहिर झमझम पानी परिरहेको राति सुरक्षाकर्मीको टोली एकपछि अर्को गर्दै उनको घरभित्र छिरेर उनलाई जबर्जस्ती करणी गरेको थियो । त्यो रात उनलाई कतिजनाले यस्तो व्यवहार गरे भन्ने समेत थाहा छैन । बन्दुक र लात्तीको प्रहार गर्दै माओवादी पाल्ने आरोप लगाइएको, हल्ला गरिएको र गोली ठोक्ने धम्की दिइएको उनले बताएकी छन् । केहीबेरमै उनी बेहोस भइन् र बिहान बच्चाहरूले उठाएपछि मात्रै होस आएको उनको भनाइ छ ।

घटना भएको ठिक एक वर्षअघि उनका श्रीमान्लाई सुरक्षाकर्मीले नै माओवादी कमान्डर भएको आरोपमा गोली हानी हत्या गरेका थिए । त्यो बेला छोराहरू सानै थिए । खाना खाएर सुतेको निद्रा नलाग्दै ढोका ढक्ढक्याएको आवाज सुनेको र आवाज सकिन नपाउँदै दुई–तीन जना ओछ्यानकै छेउमा पुगेको उनी सम्झन्छिन् ।

उक्त रातपछि दुई महिनाजति उनी आफ्नै घरमा सुतिनन् । नजिकैको छिमेकीको जीर्ण घरमा लुकेर बसिन् । सुरक्षाकर्मीले आफूलाई खोज्दै हिँडेको थाहा पाएपछि त्यही डरका कारण उनले त्यति लामो समय छिमेकीको घरमा बिताउनुपरेको बताएकी छन् ।

ती घटना भोगेको वर्षौं बितिसक्दा पनि उनको मनबाट पीडा हटेको छैन । कुरा गर्दा उनका आँखा रसाइहाल्छन् । द्वन्द्वका बेला आफूजस्तै धेरैले भोगेको यस्तो पीडा कसैले सुनेको वा बुझेको छ कि छैन भन्ने प्रश्न उनले उठाएकी छन् ।