कतारमा आयोजना हुने राइजिङ स्टार्स एसिया कपका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ। कात्तिक २९ गते सार्वजनिक भएको उक्त टोलीले नोभेम्बर १९ देखि २९ सम्म चल्ने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछ।
कप्तान सन्दीपसहित बसिर अहमद, कुशल भुर्तेल, सन्दीप जोरा, देव खनाल, सोमपाल कामी, अर्जुन कुमाल, पवन सर्राफ, ईशान पाण्डे, ललित राजवंशी, दीपक डुम्रे, अभिशेष गौतम, रासिद खान, लोकेश बम र नन्दन यादव टोलीमा समावेश छन्।
नेपाल समूह ‘बी’ मा
प्रतियोगिताको समूह ‘बी’ मा नेपालसँगै भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई रहेका छन्। समूह ‘ए’ मा भने बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ परेका छन्। भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले प्रतियोगितामा आफ्नो ‘ए’ टोली उतार्ने छन् भने नेपाल, यूएई र हङकङले सिनियर राष्ट्रिय टोली खेलाउन सक्नेछन्। यूएईले यसअघि नै दोस्रो रोजाइको टोली घोषणा गरिसकेको छ।
नेपालले नोभेम्बर २० मा भारत ‘ए’विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। त्यसपछि नोभेम्बर २२ मा यूएईसँग र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’सँग भिड्नेछ। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् भने फाइनल नोभेम्बर २९ मा हुनेछ।
यसअघि नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै राइजिङ स्टार्स एसिया कप र एसिया कप दुवैका लागि छनोट भएको थियो। प्रिमियर कपमा दोस्रो स्थान हासिल गरेको यूएई र तेस्रो स्थानमा रहेको हङकङले पनि यस प्रतियोगितामा स्थान बनाएका थिए।







