विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री सुदन गुरुङ शुक्रबार दुबई प्रस्थान गरे, तर सुरुमा उनका साथमा नेपाल प्रहरीको कुनै प्रतिनिधित्व थिएन। सम्मेलनमा प्रहरी नै सहभागी नभएको भन्दै आलोचना सुरु भएपछि आइतबार एसएसपीको नेतृत्वमा तीन प्रहरी अधिकारी दुबईतर्फ पठाइएका छन्।
दुबई सरकारको औपचारिक निमन्त्रणा पाएर गृहमन्त्री गुरुङ त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। सम्मेलनका क्रममा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधिको विकास तथा अपराध नियन्त्रणका नवीनतम अभ्यासमा अनुभव आदानप्रदान गर्ने विषय प्राथमिकतामा रहने सचिवालयको भनाइ छ।
प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री सर्वसाधारण यात्रुजस्तै लाइनमा बसेर जाँचपास गरिरहेका तस्बिर तथा भिडियो सचिवालयले सार्वजनिक गरेको थियो। दुबई पुगेपछि उनले त्यहाँका वैदेशिक व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोदीसँग भेटवार्ता गरिसकेका छन्। सचिवालयले प्रेस नोटमार्फत तीन दिने भ्रमणको कार्यक्रम उल्लेख गरे पनि गृह स्रोतका अनुसार गृहमन्त्री सोमबारै स्वदेश फर्किनेछन्। उनी सहभागी हुन लागेको सम्मेलन भने सोमबारबाट मात्रै सुरु हुँदैछ।
आईजीपीको प्रस्थान रोकिएको थियो
सम्मेलनका लागि दुबईले नेपाल प्रहरीलाई समेत निमन्त्रणा गरेको थियो। उच्च स्रोतका अनुसार आईजीपी डा. मनोजकुमार केसी आफैं सहभागी हुने तयारीमा थिए। तर गृहमन्त्री गुरुङले आफू जान लागेकाले दुवै जना नजाँदा राम्रो हुने बताएपछि अन्तिम समयमा आईजीपी केसीको दुबई प्रस्थान रोकिएको थियो।
प्रहरीसँग सम्बन्धित विषयमा छलफल हुने सम्मेलनमा प्रहरीकै सहभागिता नभएको भन्दै चौतर्फी आलोचना भएपछि गृहमन्त्रीकै निर्देशनमा आइतबार तीन प्रहरी अधिकारी दुबई पठाइएको स्रोतले जनाएको छ। नेपाल प्रहरीका सहप्रवक्ता तथा एसएसपी दीप शमशेर जबराले तीन प्रहरी दुबई पठाइएको पुष्टि गरेका छन्।
वरिष्ठ उपरीक्षक (एसएसपी) ऋषिराम कँडेलको नेतृत्वमा रहेको तीन सदस्यीय टोलीमा एक डीएसपी र एक इन्स्पेक्टर रहेको सहप्रवक्ता जबराले जानकारी दिए। यस्ता सम्मेलनमा आईजीपी आफैं वा नभएका अवस्थामा अन्य प्रहरी अधिकारी सहभागी हुँदा राम्रो हुने नेपाल प्रहरीका पूर्वआईजीपी धीरजप्रताप सिंह बताउँछन्। प्रहरीसम्बन्धी सहयोग र सहकार्य आदानप्रदान, बदलिँदो परिस्थिति तथा अपराधका नयाँ आयाम र चुनौतीबारे छलफल हुने भएकाले प्रहरीकै सहभागिता बढी प्रभावकारी हुने उनको भनाइ छ। गृहमन्त्री आफैं जानु नराम्रो नभए पनि यस्ता अवसरमा प्रहरीको सहभागिता अनिवार्य हुनुपर्ने उनले बताए।
के–के छन् छलफलका शीर्षक ?
दुबईको वर्ल्ड ट्रेड सेन्टरमा १६ देखि १८ नोभेम्बर (सोमबारदेखि बुधबार) सम्म चल्ने यो सम्मेलन दुबई प्रहरी तथा त्यहाँको सरकारले आयोजना गर्दै आएको छ। यसपटक डिफेन्स एण्ड क्राइसिस रेस्पोन्स, अपरेशनल एक्सिलेन्स इन पुलिसिङ, क्रिप्टो तथा वित्तीय अपराध नियन्त्रण, स्मार्ट पुलिसिङ र सडक सुरक्षा, स्याटेलाइट इन्टेलिजेन्स, एआई प्रयोगमा आधारित पुलिसिङ, साइबर आक्रमण प्रतिरक्षा, लागुऔषध तथा संगठित अपराधलगायत १४ शीर्षकमा गहन छलफल हुने जनाइएको छ।
सम्मेलनमा विश्वभरका प्रहरी प्रमुख, नीति निर्माता, विभिन्न अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधि, सुरक्षा विज्ञ, कूटनीतिज्ञ तथा सूचना प्रविधि विज्ञ सहभागी हुने गरेका छन्। यसपटक स्लोभाकियाका गृहमन्त्री मातुस सुताज एस्टोक तथा नर्थ म्यासोडोनियाका आन्तरिक मामिला मन्त्री पान्से तोस्कोभ्स्की पनि सहभागी हुने भएका छन्।
सन् २०२२ देखि सुरु भएको यो शिखर सम्मेलनमा नेपाल प्रहरीको तर्फबाट भने पहिलो पटक सहभागिता जनाइएको हो। सुरु भएको वर्ष आईजीपी शैलेश थापा क्षेत्री रहेका बेला पनि नेपाल प्रहरी सहभागी भएको थिएन। सम्मेलनले ‘कनेक्टेट फर इम्प्याक्ट : भावी पुस्ताको सुरक्षाका लागि विश्वव्यापी प्रहरी सेवालाई एकताबद्ध गर्दै’ भन्ने मूल नारा लिएको छ।
यसअघि भएको सम्मेलनमा ११० भन्दा बढी देशका सुरक्षा अधिकारी तथा विज्ञ सहभागी भएका थिए। सुरुवाती चरणदेखि नै एफबीआई, न्यूयोर्क पुलिस डिपार्टमेन्ट, इन्टरपोल, युरोपोल, अष्ट्रेलियन फेडेरल पुलिस तथा कोरियन नेशनल पुलिस एजेन्सीलगायत निकायका अधिकारी सहभागी हुँदै आएका छन्। साझा चुनौतीको सम्बोधन, विश्वव्यापी नीति निर्माण र भविष्यको सुरक्षालाई थप मजबुत बनाउने उद्देश्य सम्मेलनको रहेको आयोजकको भनाइ छ।







