एनपीएलको लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई ५५ रनले पराजित गरेको छ। आइतबार भएको खेलमा पोखराले दिएको २२५ रनको लक्ष्य पछ्याएको काठमाडौं १९ ओभरमै सबै विकेट गुमाएर १६९ रनमा समेटियो।
टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन जोड्यो। एनपीएलको इतिहासमा यो सर्वाधिक ठूलो स्कोर हो। यसअघि दोस्रो संस्करणमा विराटनगर किंग्सले पोखराविरुद्ध २२० रन बनाएको थियो। यसै सिजनमा कर्णाली याक्सविरुद्ध २१७ रन बनाएको पोखरा एकै सिजन दुई पटक दुई सयभन्दा माथिको रन बनाउने पहिलो टिम पनि बनेको छ।
भुर्तेल–सम्राको कीर्तिमानी साझेदारी
पोखराको ठूलो स्कोरको आधार बनेको दोस्रो विकेटको साझेदारी हो। ओपनर अर्जुन कुमाल तेस्रो ओभरको दोस्रो बलमा ५ रन बनाएर आउट भएपछि क्रिजमा पुगेका कुशल भुर्तेलले युवराज सिंह सम्रासँग मिलेर आक्रमक ब्याटिङ गरे। दुवैले दोस्रो विकेटका लागि १८६ रनको साझेदारी गरे, जुन एनपीएलकै सर्वाधिक ठूलो साझेदारी हो। यसअघि सन् २०२४ मा भएको पहिलो संस्करणमा पोखराकै आन्द्रे गौस र दिनेश खरेलले लुम्बिनी लायन्सविरुद्ध पहिलो विकेटका लागि अविजित १७६ रनको साझेदारी गरेका थिए।
शतकबाट एक रनले चुकेका भुर्तेलले ५१ बलमा ८ चौका र ८ छक्कासहित ९९ रन बनाए। सम्राले ५५ बल खेल्दै ८ चौका र ५ छक्काको मद्दतमा ८९ रन जोडे। कप्तान चमिका करुणारत्नेले ७ बलमा १ चौका र २ छक्कासहित अविजित १९ रन बनाए भने धनन्जय लक्षण २ रनमा अविजित रहे। काठमाडौंका कप्तान करण केसीले १९औं ओभरमा भुर्तेल र सम्रा दुवैलाई आउट गरेका थिए। करणले २ तथा जहानदाद खानले १ विकेट लिए।
काठमाडौंको इनिङ्स धराशायी
ठूलो लक्ष्य पछ्याउन ओपनिङमा आएका भीम शार्की टिमको स्कोर १२ रन हुँदा दोस्रो ओभरमै आउट भए। त्यसपछि ओपनर स्मित पटेल र विलियम बोसिस्टोसले दोस्रो विकेटका लागि ६० रनको साझेदारी गर्दै इनिङ्सलाई सम्हाल्ने प्रयास गरे। तर दिनेश खरेलले आठौं ओभरको अन्तिम बलमा पटेललाई आउट गर्दै साझेदारी तोडे। पटेलले २३ बलमा ४ चौका र १ छक्कासहित ३४ रन बनाए।
दशौं ओभरमा बोसिस्टो पनि खरेलकै बलमा पवेलियन फर्किए। उनले २२ बलमा ३ चौका र १ छक्कासहित २६ रन जोडेका थिए। सहान अराचिगे १ रनमै आउट हुँदा काठमाडौंले ८६ रनमा पाँच विकेट गुमाइसकेको थियो। त्यसपछि रासिद खान र जहानदाद खानले ४४ रनको साझेदारी गर्दै इनिङ्सलाई केही समय अड्याए। जहानदादलाई रमेश मेन्डिसले १५औं ओभरमा आउट गरे। जहानदादले १२ बलमा ३ छक्कासहित २४ रन बनाए भने रासिदले २० बलमा ३ चौका र २ छक्कासहित ३१ रन जोडे।
त्यसपछि सन्तोष यादव र कप्तान करण केसी खाता नखोली आउट भए, सुमित महर्जन ३ रनमा फर्किए। अन्तिम खेलाडीका रुपमा क्रिजमा पुगेका सोनु देवकोटाले अन्तिम ओभरमा युवराज सम्रालाई लगातार चार छक्का प्रहार गर्दै २९ रन बनाएर आउट भए।
पोखराका लागि दिनेश खरेलले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए। बिपिन खत्रीले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट हात पारे। रमेश मेन्डिस, सन्नी विक र युवराज सम्राले समान एक-एक विकेट लिए।
अंकतालिकाको अवस्था
यसअघि नै प्लेअफको दौडबाट बाहिरिसकेको पोखराले लिग चरणको अन्तिम खेलमा कीर्तिमानी प्रदर्शनसहित दोस्रो जित निकाल्दै ७ खेलबाट ४ अंक जोडेर सातौं स्थानमा प्रतियोगिता सकाएको छ।
काठमाडौंलाई भने यो हारले क्वालिफायर पुग्ने अभियानमा धक्का पुगेको छ। ७ खेलमा ४ जित र ३ हारबाट ८ अंक जोडेको काठमाडौं तेस्रो स्थानमा रहँदै अब एलिमिनेटर खेल्न बाध्य भएको छ। काठमाडौंले क्वालिफायर पुग्नका लागि बुधबार चितवन राइनोजसँग एलिमिनेटर खेल्नेछ।
साविक विजेता लुम्बिनी लायन्स ११ अंक जोडेर पहिलो र सुदूरपश्चिम रोयल्स १० अंक जोडेर दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने भएका छन्। सो खेल मंगलबार हुनेछ।







