अस्ट्रेलियाको ब्रिसबेनमा नेपाली क्लबहरूबीच भएको क्रिकेट प्रतियोगितामा एभरेष्ट क्लब टुवुम्बाले लगातार तेस्रो पटक उपाधि हात पारेको छ। क्वीन्सल्याण्ड नेपाली क्रिकेट संघ (क्यूएनसीए)ले आयोजना गरेको क्यूएनसीए जिवाइडब्लू फाइनान्स विन्टर टी–२० कप २०२६ को फाइनलमा एभरेष्टले रोयल गोर्खाज क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरेको हो।
योसहित एभरेष्टले लगातार तीन पटक र समग्रमा पाँचौँ पटक यो प्रतियोगिताको उपाधि जितेको छ। ब्रिसबेनमा सम्पन्न निर्णायक खेलमा उसले सुरुवातीदेखि नै दबाब कायम राख्दै प्रतिद्वन्द्वीलाई पछि पार्यो।
तीन महिनाभन्दा बढी अवधि चलेको उक्त प्रतियोगितामा जम्मा ६ टोली सहभागी थिए। एभरेष्टले पहिलो खेलदेखि नै राम्रो प्रदर्शन गर्दै आएको थियो। क्लबका कप्तान विक्रम सापकोटा प्रतियोगिताको उत्कृष्ट ब्याटर घोषित भए। त्यस्तै आयुष्मान बम प्रतियोगिताको प्लेयर अफ द सिरिज र फाइनल खेलको उत्कृष्ट खेलाडी — दुवै घोषित भए।
एभरेष्टले यो सफलता दुई प्रमुख खेलाडीको अनुपस्थितिमा पनि हासिल गरेको हो। नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी रहेका क्लबका दिलीप नाथ र आदित्य महता फाइनलमा टोलीसँगै थिएनन्।
उपाधि जितेको अवसरमा एभरेष्ट क्लबले रसुवा बाढीपीडित राहत कोषमा ५५ हजार रूपैयाँ सहयोग गरेको छ। यो जितले क्वीन्सल्याण्डको नेपाली क्रिकेट समुदायमा क्लबको सफलता यात्रालाई थप बलियो बनाएको छ।







