नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको क्वालिफायर्स-२ खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। बिहीबार कीर्तिपुरको त्रिवि क्रिकेट रंगशालामा भएको टसमा चितवनका कप्तान रवि बोपाराले टस जितेपछि सुदूरपश्चिमलाई फिल्डिङका लागि निम्तो दिएका हुन्।
यो खेल साँझ ५ बजे सुरु हुनेछ। दुवै टोलीका लागि यो भेट निर्णायक छ, किनकि यहाँ जित्ने टोलीले फाइनलको टिकट पक्का गर्नेछ। हार्ने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ।
चितवनले बुधबार भएको इलिमिनेटर खेलमा काठमाण्डू गोर्खाजमाथि ६१ रनको स्पष्ट जित निकाल्दै क्वालिफायर्स-२ मा स्थान बनाएको थियो। त्यसअघि सुदूरपश्चिम भने क्वालिफायर्स-१ मा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि क्वालिफायर्स-२ खेल्न बाध्य भएको हो।
इलिमिनेटर जितेको लयलाई निरन्तरता दिँदै चितवन फाइनल पुग्न चाहन्छ भने क्वालिफायर्स-१ को हारलाई बिर्सिएर सुदूरपश्चिम पनि अन्तिम भेटमा पुग्ने दाउमा छ।







