मुख्य सामग्रीमा जानुहोस्

सुनील थापा फेरि पर्दामा ‘राते दाइ’ बनेर, शुक्रबारदेखि ‘हिमालयन गोल्ड’ प्रदर्शनमा

नेपाली चलचित्रमा खलनायकको बलियो छवि बनाएका सुनील थापाको अन्तिम अभिनय रहेको चलचित्र ‘हिमालयन गोल्ड’ शुक्रबारदेखि हलमा आउँदै छ। ‘चिनो’को राते काइँलाको झल्को दिने राते दाइको भूमिकामा उनी यसपटक पनि प्रस्तुत भएका छन्।

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

१पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
सुनील थापा फेरि पर्दामा ‘राते दाइ’ बनेर, शुक्रबारदेखि ‘हिमालयन गोल्ड’ प्रदर्शनमा
Nagariknetwork

नेपाली चलचित्रमा खलनायकको परिचय नै फरक ढंगले स्थापित गरेका अभिनेता सुनील थापा फेरि एकपटक पर्दामा ‘राते दाइ’को भूमिकामा देखिने भएका छन्। उनको अभिनय रहेको नयाँ चलचित्र ‘हिमालयन गोल्ड’ शुक्रबारदेखि सिनेमा हलमा प्रदर्शन हुँदै छ।

२०४५ साल माघमा प्रदर्शन भएको तुलसी घिमिरे निर्देशित ‘चिनो’मा थापाले निर्वाह गरेको राते काइँलाको पात्र आज पनि दर्शकको स्मृतिमा उत्तिकै ताजा छ। खलनायकलाई समेत नायककै हाराहारी लोकप्रियता दिलाउने पात्रका रूपमा राते काइँलालाई चिनिन्छ।

गत वर्ष माघ २४ गते हृदयघातका कारण निधन भएका थापाको पर्दाको अन्तिम प्रस्तुति यही चलचित्रमार्फत दर्शकसामु आउन लागेको हो। चलचित्रको सुटिङ र डबिङ सकिएपछि उनको निधन भएको थियो।

सन् १९५७ मे १९ मा दाङ जिल्लामा जन्मिएका थापाले सानातिना भूमिकादेखि मुख्य पात्रसम्म गरेर करिब ३०० नेपाली चलचित्रमा अभिनय गरेका छन्। ‘चिनो’, ‘राँको’, ‘सपना’, ‘देउकी’, ‘ठूल्दाइ’, ‘आगो’ र ‘तँ त सारै बिग्रिस् नि बद्री’ जस्ता चलचित्रमा उनको उपस्थिति रहेको थियो। बलिउडमा ‘एक दूजे के लिए’बाट देखिएका उनी त्यसपछि ‘मानव हत्या’, ‘अलबेला’ र ‘मेरी कोम’लगायतका भारतीय चलचित्रमा प्रस्तुत भए। ‘मेरी कोम’को अभिनयले उनलाई अन्तर्राष्ट्रिय दर्शकमाझसमेत चिनायो। केही भोजपुरी चलचित्रमा पनि उनले काम गरेका थिए।

यार्सागुम्बा संकलकको संघर्ष

‘चिनो’ प्रदर्शन भएको करिब ३७ वर्षपछि निर्देशक तथा लेखक धीराज राजवंशीले थापालाई पुनः राते दाइकै भूमिकामा उभ्याएका छन्। हिमाली क्षेत्रका बासिन्दाको जीविकासँग जोडिएको यार्सागुम्बाको महत्व, त्यसको खोजी र संकलनका बेला परिवारले भोग्ने कठिनाइ तथा जोखिमलाई चलचित्रको मुख्य कथावस्तु बनाइएको छ।

यार्सागुम्बा टिपेर फर्किंदै गर्दा लुटेरा समूहको आक्रमणमा बाबुआमा र भाइको हत्या भएपछि सोनाम (परीक्षा लिम्बू) को संघर्ष सुरु हुन्छ। शारीरिक बलभन्दा भावनात्मक बुद्धिमत्ताको सहारा लिँदै उनले चार खलनायकलाई एकअर्काविरुद्ध उभ्याएर बदलाको प्रयास गर्छिन्।

लुटेरा समूहको नेतृत्व थापाले गरेका छन्। उनका सहयोगीका रूपमा प्रकाश (कर्मा शाक्य), दीपक (साजन थापा मगर) र सुनील (राहुल मुखिया) प्रस्तुत छन्। यी चारै कलाकारको अभिनयले चलचित्रभरि कतै आक्रोश, कतै हास्य तथा कतै विषादको वातावरण तयार पारेको छ। गाउँका अवसरवादी चरित्र, यौन चाहना र अभिभावकको संरक्षणबाट वञ्चित बालबालिकाको असुरक्षित अवस्थालाई पनि चलचित्रले देखाउन खोजेको छ।

मुस्ताङको हिमाली परिवेश

निर्देशक राजवंशीका अनुसार चलचित्रको सम्पूर्ण छायांकन माथिल्लो मुस्ताङमा भएको छ। समुद्री सतहबाट ३ हजार ८ सय मिटरभन्दा माथि रहेका मुक्तिनाथ, लोमान्थाङ, छुसाङ गुफा, भिन्ताङ र अन्नपूर्ण आधार शिविरसहित छवटा स्थानमा खिचाइ भएको छ। हिउँले ढाकिएका हिमाल, समथर फाँट र त्यहाँको मौलिक जनजीवनले चलचित्रलाई आकर्षक बनाएको छ भने हिमाली भूगोलको कठिनाई पनि पर्दामा समेटिएको छ।

गीत नभएको फरक प्रयास

चलचित्रको एउटा फरक पक्ष भनेको यसमा कुनै गीतसंगीत राखिएको छैन। नायिकालाई पनि परम्परागत ढंगको नायकजस्तै शक्तिशाली पात्रका रूपमा प्रस्तुत गरिएको छ, जसले प्रचलित नायकको अवधारणाभन्दा हटेर कथा भन्ने प्रयास झल्काउँछ। गीतसंगीत रुचाउने दर्शकलाई भने चलचित्र केही खल्लो लाग्न सक्छ। पहिलो भागका धेरैजसो संवादमा अश्लील शब्द प्रयोग भएकाले केही दृश्य असहज पनि लाग्न सक्छन्।

निर्देशक राजवंशीले थापालाई पुरानै राते काइँलाको झल्को दिने गेटअपमा उभ्याएका छन्। उनको संवाद र बोल्ने शैलीले दर्शकलाई ‘चिनो’को सम्झना गराउँछ। तर मुख्य खलनायक रहेका राते दाइलाई निर्देशकले चलचित्रको मध्यतिरै मारिदिन्छन्, त्यसैले उनी पूरै अवधिभर पर्दामा देखिँदैनन्। बाँकी लुटेरा र सोनामबीचको सम्बन्ध क्रमशः विकास गर्दै एकपछि अर्को खलनायकको अन्त्यसँगै कथा टुंग्याइएको छ।