मुख्य सामग्रीमा जानुहोस्

पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्किनुहुन्न भन्ने मान्यता यथावत् छ : प्रदीप ज्ञवाली

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रपति वा उपराष्ट्रपतिको संवैधानिक पद सम्हालिसकेका व्यक्ति दलीय राजनीतिमा फर्किनु नहुने आफ्नो सैद्धान्तिक धारणा कायमै रहेको बताएका छन्। तर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई…

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

१पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्किनुहुन्न भन्ने मान्यता यथावत् छ : प्रदीप ज्ञवाली
Nagariknetwork

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रपति वा उपराष्ट्रपतिको संवैधानिक जिम्मेवारी सम्हालिसकेका व्यक्ति दलीय राजनीतिमा फर्कनु नहुने आफ्नो व्यक्तिगत तथा सैद्धान्तिक मान्यता अझै यथावत् रहेको बताएका छन्। तर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मानजनक स्थान दिने गरी पार्टीले गरेको निर्णयलाई भने उनले आफ्नै निर्णय भनेका छन् र त्यसको कार्यान्वयनलाई आफ्नो कर्तव्य मानेका छन्।

बुधबार नागरिक न्युजको अनलाइन संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुरा गर्दै ज्ञवालीले सिद्धान्तमा अडिग रहँदै पार्टीको सामूहिक निर्णय पालना गर्ने आफ्नो अडान स्पष्ट पारेका हुन्।

गणतन्त्र स्थापना भएको करिब १८–१९ वर्ष मात्र भएको सन्दर्भ जोड्दै उनले यो व्यवस्थाको आफ्नै व्याकरण, संस्कृति र मानक निर्माण गर्नु आवश्यक रहेको उल्लेख गरे। राष्ट्रको प्रतीक र अभिभावकका रूपमा परिकल्पना गरिएको पदमा पुगेपछि पार्टीगत राजनीतिमा फर्कन नहुने विषयमा आफूले विगतमा सार्वजनिक रूपमै बोलेको पनि उनले स्वीकार गरे।

सोही विषयले पार्टीभित्र केही विवादको रूप लिएपछि एकतालाई बल पुर्‍याउने हिसाबले नेतृत्वले निर्णय गरेको र निर्णय भइसकेपछि त्यो आफ्नो पनि निर्णय हुने उनको भनाइ छ।

पूर्वराष्ट्रपतिलाई पार्टीमा तानेर आफ्नो शक्ति स्थापित गर्न खोजेको भन्ने आलोचना ज्ञवालीले अस्वीकार गरे। पार्टीका उपाध्यक्ष र महासचिव अध्यक्ष केपी ओलीको विपरीत कित्तामा उभिएको सन्दर्भ जोडेर यो आरोप लगाइएको थियो। जवाफमा उनले राष्ट्र र संविधान संकटमा रहेका बेला पार्टीभित्रको आन्तरिक जोडघटाउमा आफ्नो स्थान के हो भन्ने प्रश्न नै अप्रासंगिक भएको प्रतिक्रिया दिए।

भण्डारी सक्रिय राजनीतिमा फर्किएपछि उनको वरिपरि सबै कम्युनिस्ट शक्ति एकताबद्ध गर्ने प्रयास भइरहेको चर्चालाई पनि ज्ञवालीले केवल काल्पनिक अनुमान भनेका छन्।

एकता व्यक्तिले होइन, विचारले गर्नुपर्ने उनको दाबी छ। केपी ओली र पुष्पकमल दाहालको निर्णायक नेतृत्व रहेको अवस्थामासमेत व्यक्ति केन्द्रित एकता टिक्न नसकेको उदाहरण दिँदै उनले विचार, देशको भविष्य र राष्ट्रिय हितलाई केन्द्रमा राखिएको एकता मात्र दिगो हुने बताए।

महाधिवेशन, पद र आकांक्षा

पार्टीको ११औं राष्ट्रिय महाधिवेशनमा आफूले महासचिव पदको आकांक्षा राखे पनि अध्यक्ष ओलीको इच्छाविपरीत उम्मेदवारी नदिएको प्रसंग ज्ञवालीले कोट्याए। विद्रोहको बाटो रोजेर चुनावमा होमिएको भए जित्ने सम्भावना रहेको उनको भनाइ छ।

केन्द्रीय सदस्यमा आफ्नो पक्षमा परेको मतले कार्यकर्ताको सद्भाव पुष्टि गरेको उल्लेख गर्दै उनले जीवनभर लगानी गरेको पार्टीको एकता कमजोर नपरोस् भनेर पद त्याग गरेको स्पष्ट पारे।

लामो समय केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका ज्ञवाली असोजको बैठकबाट स्थायी कमिटी सदस्य बनाइएका थिए। पद भर्याङ चढ्दा टेकिने सिँढीजस्ता मात्र हुने उनको धारणा छ।

२०२८ सालमा नौ वर्षको उमेरमै विद्यालयको जुलुसको नेतृत्व गर्दै राजनीतिमा प्रवेश गरेका उनले पदले नभई कार्यसम्पादनले व्यक्तिको भूमिका स्थापित गर्ने बताए।

आन्तरिक एकता र विवाद

विधान महाधिवेशनपछि उमेर हद, कार्यकाल र पूर्वराष्ट्रपतिको सदस्यता लगायतका विषयमा उठेका विवादले पार्टीभित्रको एकता कमजोर बनेको उनले स्वीकार गरे।

भदौ २३–२४ का घटना र फागुन २१ को निर्वाचनको नतिजापछि नेतृत्व परिवर्तनबिना आन्दोलन अघि नबढ्ने अवस्था बनेर करिब छ महिना पार्टीभित्र ध्रुवीकरण र कित्ताकाटजस्तो स्थिति निर्माण भएको उनले बताए।

तेस्रो केन्द्रीय कमिटी बैठकमा पेस भएका दुई फरक प्रतिवेदनबीच तालमेल मिलाउन आफूले भूमिका निर्वाह गरेको र त्यसक्रममा केही मिडिया आलोचना पनि सहनुपरेको उनले सुनाए।

द्वन्द्वका बेला एउटा पक्षमा उभिएर अर्को पक्षलाई काट्न खोज्दा चर्चा र भाइरल भइने भए पनि संस्था बलियो बनाउन आफूले समन्वयको बाटो रोजेको उनको भनाइ छ।

नेताहरूबीचको अहंको टकराव, नेतृत्व हस्तान्तरणको लोकतान्त्रिक विधि र पद प्राप्तिको वैधानिक बाटोजस्ता विषयमा नेपालका प्रमुख दलहरूभित्रै समस्या रहेको पनि उनले स्वीकार गरे।