मुख्य सामग्रीमा जानुहोस्

कोशी सरकार फेर्न एमाले नेता गुण्डुमा, मुख्यमन्त्री कार्की भन्छन्– जानकारी छैन

कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तनबारे छलफल गर्न एमालेका प्रदेश नेताहरूले अध्यक्ष ओलीको भक्तपुर–गुण्डुस्थित निवासमा भेटवार्ता गरेका छन्। मुख्यमन्त्री कार्कीले भने सरकार फेर्ने विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका…

विश्वपत्र संवाददाता

· ३ मिनेटको पढाइ

४पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
कोशी सरकार फेर्न एमाले नेता गुण्डुमा, मुख्यमन्त्री कार्की भन्छन्– जानकारी छैन
Online Khabar

विराटनगर । कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तनबारे छलफल गर्न नेकपा एमालेका प्रदेश नेताहरूले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर–गुण्डुस्थित निवासमा फेरि भेटवार्ता गरेका छन्। मंगलबार भएको यो भेटपछि सरकार फेर्ने प्रयासले पुनः गति लिएको नेताहरू बताउँछन्।

स्रोतका अनुसार ओलीसँगको भेटमा प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र नेता होम थापालगायतको टोली सहभागी थियो। यस विषयको छलफलमा मुख्यमन्त्री हिक्मतकुमार कार्की भने उपस्थित थिएनन्।

बैठकमा सहभागी एक नेताका अनुसार ओलीले आफू र मुख्यमन्त्री कार्कीबीच यसअघि भएको समझदारीअनुसार कार्कीले दशैं–तिहारपछि मार्ग प्रशस्त गर्ने बताए। पार्टीले आधिकारिक निर्देशन दिएपछि सोहीअनुसार प्रक्रिया अघि बढ्ने उनको भनाइ छ।

आफ्नै नेतृत्वको सरकार फेरबदलबारे चलिरहेको चर्चाबारे मुख्यमन्त्री कार्कीले भने अनभिज्ञता प्रकट गरेका छन्। आफूलाई यस विषयमा केही जानकारी नभएको र आफूसँग त्यस्तो कुनै कुराकानी पनि नभएको उनले बताए।

मुख्यमन्त्री निकट नेताहरूले भने सरकार फेर्ने चर्चालाई गलत भनेका छन्। तीन–तीन महिनाको अन्तरालमा सरकार परिवर्तन हुन नहुने र व्यक्तिगत स्वार्थका लागि आफ्नै पार्टीको सरकार अस्थिर बनाउँदा निर्वाचनअघि गलत सन्देश जाने उनीहरूको भनाइ छ।

भेटमा सहभागी नेता शेरधन राईका अनुसार गुण्डुमा राजनीतिका विविध विषयमा कुराकानी भए पनि प्रदेश सरकारको नेतृत्व परिवर्तनबारे ठोस निर्णय भइसकेको छैन। प्रदेश अध्यक्ष खतिवडाले भने समग्र राजनीतिक विषयमा छलफल हुँदा प्रदेश सरकारको प्रसंग पनि उठेको स्वीकार गरेका छन्। ओलीले कार्कीसँग दशैं–तिहारपछि मार्ग प्रशस्त गर्ने विषयमा भएको कुरा जानकारी गराएको उनले बताए, तर अन्य विषय खुलाउन चाहेनन्।

बैठकमा मुख्यमन्त्री कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने र सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग पनि यसबारे छलफल अघि बढाउने विषय उठेको थियो।

नेकपाको असन्तुष्टि

सरकार परिवर्तनको चर्चामा सत्ता साझेदार नेकपाले असन्तुष्टि जनाएको छ। नेकपा कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार वर्तमान सरकारलाई निर्वाचनसम्म निरन्तरता दिनुपर्ने पक्षमा आफ्नो दल स्पष्ट छ।

गत भदौ १ गते मात्र नेकपा प्रदेश सरकारमा सहभागी भएको, तीन महिना पनि नपुगेको र सरकारले भर्खरै लय समात्न खोजिरहेका बेला नेतृत्व फेर्ने कुरा उठाउनु दुःखद भएको आङ्बोको टिप्पणी छ। प्रदेश संरचनालाई मुख्यमन्त्री र मन्त्री उत्पादन गर्ने थलोका रूपमा आलोचना भइरहेका बेला फेरि सरकार परिवर्तनको खेलमा लाग्नु उचित नहुने र यसले राजनीतिक अस्थिरताको गलत सन्देश दिने उनको भनाइ छ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमत सांसदको समर्थनमा सरकार बनेको र मुख्यमन्त्रीले भर्खरै विश्वासको मत लिइसकेकाले कसैले चाहँदैमा सरकार नफेरिने आङ्बोले दाबी गरे। संसदीय दलको बहुमत–अल्पमतका आधारमा पनि तत्काल सरकार फेरिने संवैधानिक अवस्था नरहेको उनको तर्क छ। मुख्यमन्त्री बदलिने प्रवृत्तिमा आफ्नो दल सहभागी नहुने स्पष्ट पार्दै उनले जबर्जस्ती सरकार फेर्न खोजिए बाँकी दलहरूसँगको सहकार्यमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने चेतावनी दिए।

यसअघि पनि असफल

कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तनलाई लिएर एमालेभित्र लामो समयदेखि आन्तरिक मतभेद र रस्साकस्सी चल्दै आएको छ। गत साउनमा पनि मुख्यमन्त्री फेर्ने प्रयास भएको थियो, जो सफल भएन।

नेकपा सरकारमा सहभागी हुनुअघि मुख्यमन्त्री कार्कीविरुद्ध एमालेको प्रदेश संसदीय दलमा हस्ताक्षर अभियान नै चलेको थियो। तर हस्ताक्षर गर्दा बहुमत सांसद विपक्षमा उभिए र दलको विधानमा संसदीय दलको नेता फेर्न दुई तिहाइ मत आवश्यक पर्ने प्रावधान थियो।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार गठन भएको सरकार भएकाले तत्काल नेतृत्व फेर्न सहज नरहेको निष्कर्षमा नेताहरू पुगेका थिए। साउन २० गते मुख्यमन्त्री कार्की र अध्यक्ष ओलीबीच गुण्डुमै छलफल भएको थियो, जसपछि ओलीले कार्कीलाई हटाउने निर्णयबाट पछि हट्दै काम गर्दै अघि बढ्न भनेका थिए। ओली पक्षीय नेताहरूले भने मुख्यमन्त्रीको फेस सेभिङका लागि दशैं–तिहारसम्म सरकारलाई निरन्तरता दिइएको तर्क गर्दै आएका छन्।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि पनि ओलीले कोशी प्रदेशको मुख्यमन्त्री फेर्न खोजेका थिए। त्यसबेला तत्कालीन सत्तारुढ दल नेपाली कांग्रेस सरकार फेर्दा आफ्नै नेतृत्वमा हुनुपर्ने शर्तमा अडिग रहेपछि विवाद बढ्यो र कांग्रेस–एमालेबीचको दुरी बढ्दै नेकपा एमाले नेतृत्वको प्रदेश सरकारमा सहभागी भएको थियो।

अहिले पनि ओली पक्षीय नेताहरू मुख्यमन्त्री फेर्न चाहे पनि मुख्यमन्त्री आफै तयार नभएसम्म परिवर्तनको सम्भावना कम रहेको नेताहरू बताउँछन्। उपधारा ५ अनुसार बनेको सरकारमा दलको ह्वीप नलाग्ने, आफूहरू अस्थिरताको खेलमा नरहेको र निर्वाचनसम्म यही सरकारलाई निरन्तरता दिने पक्षमा रहेको मुख्यमन्त्री निकट एक सांसदले बताए।