गृहमन्त्रीले मिटरब्याजको सिकार भएका पीडितहरूसँग तीन दिन लामो वार्ता गरेका छन्। उनले पीडितलाई सम्बोधन गर्दै भने, ‘जाबो तीन महिना भयो सरकार बनेको, तपाईंहरूको समस्या त उहिलेदेखिको हो। सरकार आफैं तपाईंहरूको ढोकामा आएको छ।’ उनले अगाडि भने, ‘अब मभन्दा माथि प्रधानमन्त्री हुनुहुन्छ। पुरानो सरकारको जिम्मेवारी हामी लिँदैनौं। पुराना सरकार तपाईंहरूको पीडामा कहिले आएका थिए र?’
वार्ताका क्रममा गृहमन्त्रीको मुख्य निशाना पुराना राजनीतिक दलहरू थिए। उनले विगतका सरकार र पुराना राजनीतिक शक्तिकै कारण मिटरब्याजजस्तो सामन्ती अवशेषले प्रश्रय पाएको बताए। उनले कांग्रेस, एमाले र माओवादीजस्ता पुराना दलहरूको तीखो आलोचना गर्दै आफूहरू ती दलभन्दा फरक रहेको दोहोर्याए।
वर्षौंदेखि साहुहरूको शोषण र कानुनी जटिलतामा जेलिएर रुन मात्र बाध्य पीडितहरूलाई गृहमन्त्रीले हँसाउने प्रयास गरे। उनले ठट्टा र विभिन्न प्रसंगहरू सुनाएर पीडितको मनोबल उच्च बनाउन खोजे। पीडितको आँसु पुछ्ने आश्वासन दिँदै उनले आन्दोलनकारीहरूलाई केही क्षणका लागि मानसिक तनावबाट मुक्त गराउने कोसिस गरे।
वार्तामा सहभागी एक सदस्यका अनुसार गृहमन्त्रीले पीडितलाई आफ्नो पक्षमा पार्न र विगतको राज्य संयन्त्रको कमजोरीबाट आफूलाई अलग देखाउन पुराना दलविरुद्धको भावनालाई चलाखीपूर्वक प्रयोग गरे।

