जुम्लामा सरकारी मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ । दुर्घटना चन्दननाथ नगरपालिका–६ स्थित महतगाउँमा शुक्रबार साँझ भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ज्यान गुमाउने व्यक्ति चन्दननाथ नगरपालिका–७ निवासी ४२ वर्षीय हेमबहादुर महत हुन् । शुक्रबार बेलुका करिब ६ बजेतिर जुम्ला बजारबाट तातोपानीतर्फ लागिरहेको क १ ब २७३ नम्बरको सरकारी मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका महतलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो । त्यहाँ साँझ ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटना लगत्तै मोटरसाइकल चालक भने फरार छन् र प्रहरीले उनको खोजी तीव्र पारेको जनाएको छ । ठक्कर दिने सोही मोटरसाइकल जिल्ला प्रहरी कार्यालय जुम्लाको नियन्त्रणमा राखिएको छ । घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।







