काठमाडौंको मैपीमा शुक्रबार राति प्रहरीले गरेको छापामा कौडा खेलिरहेका २४ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार राति ९ः३० बजे मैपीस्थित एक घरमा प्रहरी टोलीले छापा मारेको थियो।
उक्त घरभित्र हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा ती व्यक्तिहरू भेटिएको प्रहरीले जनाएको छ। छापाक्रममा उनीहरूबाट नगद र कौडा बरामद गरिएको छ।
बरामद सामानमा ९ लाख ६० हजार ५०० नेपाली रुपैयाँ, ४६० अमेरिकी डलर, ५०० भारतीय रुपैयाँ तथा १६ थान कौडा रहेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेहरूमा निरज निरौला, बसन्त अधिकारी, सुजन श्रेष्ठ, नारायण श्रेष्ठ, राजेश केसी, विनोद घिमिरे, रामकृष्ण कार्की, जलेश पाण्डे, दिनेश भट्टराई, प्रदीप कडेल, माधव बिष्ट, शालिग्राम वाग्ले, जयराम पाण्डे, शिव भट्ट, सन्दिप पौडेल, सुनिल श्रेष्ठ, प्रेम श्रेष्ठ, महेश दाहाल, श्याम शर्मा, अरुण बस्नेत, सुमन रिजाल, प्रदीप गौतम, आनन्द राज त्रिपाठी र अनिल सिलवाल छन्।
पक्राउ परेका सबैका सम्बन्धमा जुवासम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।







