जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुने महाशाखाको भनाइ छ ।
हाल देशभर साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने पहाडी भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, मधेस र कोशी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपात हुनेछ ।
महाशाखाका अनुसार देशका पहाडी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भाग तथा लुम्बिनी प्रदेशको तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति पनि देशभर बदली रहने र विभिन्न भूभागमा वर्षा तथा हिमपात हुने अनुमान गरिएको छ ।
भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ । यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन भनिएको छ ।

