मुख्य सामग्रीमा जानुहोस्

भानुचोक बसपार्क सुनसान, नयाँ बसपार्कमा चहलपहल

धरान उपमहानगरपालिकाले भानुचोकबाट बसपार्क सारेपछि पुरानो क्षेत्र सुनसान भएको छ। नयाँ बसपार्कमा टिकट काउन्टर स्थानान्तरणसँगै चहलपहल बढेको छ। तर भानुचोक आसपासका व्यवसायीको व्यापारमा भने असर पर्ने देखिएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
भानुचोक बसपार्क सुनसान, नयाँ बसपार्कमा चहलपहल

धरान–८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजना क्षेत्रमा निर्मित स्मार्ट बसपार्कमा सार्वजनिक सवारीसाधनका टिकट काउन्टर सरेपछि धरानको भानुचोक–घण्टाघर क्षेत्र सुनसानजस्तै बनेको छ। अर्कोतर्फ, नयाँ बसपार्कमा यात्रु र सवारीसाधनको चहलपहल उल्लेखनीय रूपमा बढेको छ।

धरान उपमहानगरपालिकाले असार १३ गते भानुचोक–घण्टाघर क्षेत्रको बसपार्क सार्ने औपचारिक घोषणा गर्दै टर्मिनल भवन र बसपार्कको उदघाटन गरेको थियो। उदघाटनपछि पनि यातायात व्यवसायीहरूले सवारीसाधन नयाँ बसपार्कमा लैजान आनाकानी गरे पनि पछिल्लो छलफल र अन्तरक्रियापछि नयाँ बसपार्क नियमित सञ्चालनमा आएको छ।

नयाँ बसपार्कको व्यवस्थापन

भानुचोक–घण्टाघर क्षेत्रमा पहाडी रुट, पूर्व–पश्चिम र विराटनगर रुटका सार्वजनिक सवारीसाधन तथा रातो नम्बर प्लेटका सवारी पार्किङमा प्रतिबन्ध लगाइएको छ। बसपार्कका फोकल पर्सन खगेन्द्र खतिवडाका अनुसार ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवसायी र उपमहानगरपालिकाको समन्वयमा नयाँ बसपार्क विधिवत् सञ्चालनमा आएको हो।

तीनकुनेको नयाँ बसपार्कमा एकैपटक ३८ वटा ठूला बस तथा १८ वटा जिप, ल्यान्डरोभर र ट्याक्सी पार्किङ गर्न सकिने क्षमता रहेको छ। यसअघि भानुचोक बसपार्क मुलुककै सबैभन्दा साँघुरो बसपार्कमध्ये एक थियो। करिब ५० वर्षअघि दर्जनजति सवारीसाधनका लागि बनेको त्यो बसपार्क पछिल्ला दुई दशकमा बढ्दो सवारी र यात्रु चापका कारण अत्यधिक भीडभाड हुने गरेको थियो।

निर्माण लागत र व्यवस्थापन

तीनकुने सुन्दर बस्ती विकास आयोजना क्षेत्रमा ८० भन्दा बढी जग्गाधनीको जग्गा ल्याण्ड पुलिङ प्रणालीमार्फत एकीकृत गरी २७ कट्टा क्षेत्रफलमा बसपार्क निर्माण गरिएको हो। २०७८ सालमा सरकारको समपूरक अनुदानबाट ५० प्रतिशत बजेट र बाँकी धरान उपमहानगरपालिकाले व्यहोरेर २४ करोड ८६ लाख ९ हजार १४८ रुपैयाँ लागतमा बसपार्क सम्पन्न भएको हो। निर्माण सुनसरीको दुहबीस्थित एम/एस बिकोइ गिताञ्जली जेभीले सम्झौताबमोजिम २०८१ असार अन्तिमसम्म गरेको थियो।

बसपार्क सञ्चालनको जिम्मा इटहरीका सुमन राईको कम्पनी ब्रदर्स ट्रेडर्सलाई भ्याटसहित वार्षिक १ करोड २ लाख रुपैयाँमा ठेक्कामार्फत दिइएको छ।

स्थानीय प्रभाव

बसपार्क स्थानान्तरणपछि भानुचोक, देशीलाइन र पुतलीलाइन क्षेत्र खुला देखिन थालेका छन्। यसअघि ती क्षेत्रमा सवारी पार्किङको स्थान अभाव हुने गरेको थियो। यद्यपि, भानुचोक आसपासका स्थानीय व्यापारी तथा व्यवसायीको व्यापारमा केही असर पर्ने देखिएको छ।