मुख्य सामग्रीमा जानुहोस्

कोलम्बोमा ‘ह्यान्ड्स अफ एसिया’ सम्मेलन सुरु, प्रचण्डले क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणमा जोड

इन्टरनेशनल पिपुल्स एसेम्बली (आईपीए) को आयोजनामा कोलम्बोमा सुरु भएको ‘ह्यान्ड्स अफ एसिया’ सम्मेलनमा सहभागी हुँदै प्रचण्डले एसियाका कम्युनिस्ट आन्दोलनको विजय र पाठबाट सिक्नुपर्ने बताए। सम्मेलनमा श्रीलंकाका वातावरण मन्त्री…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
कोलम्बोमा ‘ह्यान्ड्स अफ एसिया’ सम्मेलन सुरु, प्रचण्डले क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणमा जोड

श्रीलंकाको कोलम्बोमा इन्टरनेशनल पिपुल्स एसेम्बली (आईपीए) को आयोजनामा तीन दिने ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणलाई सबैभन्दा महत्त्वपूर्ण लक्ष्य बताए।

प्रचण्डको सम्बोधन

प्रचण्डले एसियाका कम्युनिस्ट आन्दोलनका ऐतिहासिक विजय र त्यसक्रममा सिकिएका कठिन पाठहरूमाथि चर्चा गरे। उनले भने, बदलिँदो वैश्विक परिदृश्य र महाशक्तिहरूको तीव्र दबाबका बीच पनि असंलग्नताको नीति र समाजवादी निर्माण नै प्रमुख लक्ष्य हुनुपर्छ।

विभिन्न वक्ताको धारणा

सम्मेलनमा श्रीलंकाका क्याबिनेट वातावरण मन्त्री डा. दम्मिका पाताबेन्दीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को ऋणदाता कार्यक्रमको कठोर अनुशासन र सर्तहरूको सामना गर्दै जनपक्षीय मार्ग पहिल्याउने यथार्थबारे धारणा राखे। विश्वविख्यात मार्क्सवादी लेखक एवं इतिहासकार विजय प्रसादले विश्वव्यापी सैन्यीकरण, सार्वभौम ऋणको संकट र उग्र-दक्षिणपन्थको उदयलाई एउटै साम्राज्यवादी संरचनाका लक्षण भएको बताए।

सम्मेलनको दोस्रो सत्रमा नेपाली कम्युनिस्ट पार्टीका नेता बलराम बास्कोटाले ‘वामपन्थी शक्तिहरूबीचको विभाजनमा साम्राज्यवादको भूमिका’ विषयमा प्रस्तुति दिए।

पार्श्वमा भेटघाट

सम्मेलनको साइडलाइनमा प्रचण्डले क्युबा, भेनेजुएला र ब्राजिल लगायतका ल्याटिन अमेरिकी देशहरूबाट आएका शीर्ष वामपन्थी नेताहरूसँग भेटवार्ता गरेको बताइएको छ। सम्मेलनकै सिलसिलामा उनले एसियाका विभिन्न कम्युनिस्ट तथा वामपन्थी नेताहरूसँग द्विपक्षीय र बहुपक्षीय छलफल गर्ने तालिका रहेको छ।

तीन दिनसम्म चल्ने यस सम्मेलनमा विभिन्न विषयगत राजनीतिक मुद्दाहरूमा छलफल हुनेछ।