अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चुनावी सुरक्षाको विषयमा राष्ट्रको नाममा विशेष सम्बोधन गर्दै सन् २०२० को राष्ट्रपति चुनावमा धाँधली भएको दाबी दोहोर्याएका छन्। ह्वाइट हाउसबाट सम्बोधनका क्रममा उनले केही गोप्य चुनावी सुरक्षा कागजातहरू सार्वजनिक गर्दै चीनले २२ करोड अमेरिकी मतदाताको डाटा चोरेको आरोप लगाए। ट्रम्पका अनुसार चीनले अमेरिकाका १८ राज्यबाट मतदाताको नाम, ठेगाना, फोन नम्बर र राजनीतिक दलको सदस्यतासहितका विवरणहरू ह्याक गरेको थियो। यसलाई उनले अमेरिकी चुनावी इतिहासकै सबैभन्दा ठूलो साइबर घुसपैठ बताए।
ट्रम्पले आफ्नो सम्बोधनमा २ लाख ७८ हजार गैर-नागरिक मतदाता दर्ता भएको आरोप पनि लगाए। उनले अमेरिकी गृह सुरक्षा विभाग (डीएचएस) को अनुसन्धानलाई उद्धृत गर्दै संघीय चुनावका लागि करिब २ लाख ७८ हजार गैर-नागरिकहरू मतदाताको रूपमा दर्ता भएको दाबी गरे। डेमोक्र्याट शासित राज्यहरूले डाटा नदिएका कारण वास्तविक सङ्ख्या यो भन्दा धेरै हुन सक्ने उनले बताए। ट्रम्पले भोटिङ मेसिन ह्याक हुने खतराबारे पनि चिन्ता व्यक्त गरे, जसमा रुस, चीन, इरान र उत्तर कोरियालाई प्रमुख सम्भावित खतरा मानिएको छ।
खुफिया एजेन्सीमाथि गम्भीर आरोप
ट्रम्पले आफ्नो सम्बोधनमा सबैभन्दा गम्भीर आरोप अमेरिकी खुफिया एजेन्सीहरूमाथि लगाए। उनले भने, 'सीआईए, एफबीआई लगायतका अमेरिकी खुफिया एजेन्सीहरूलाई यो कुरा पहिल्यै थाहा थियो, तर उनीहरूले तत्कालीन राष्ट्रपति, कंग्रेस र अमेरिकी जनताबाट यो सत्य लुकाए। उनीहरू लगातार यो चुनाव इतिहासकै सुरक्षित हो भनेर झुट बोलिरहे।' ट्रम्पले राष्ट्रिय जासुसी निर्देशक, एफबीआई, सीआईए र न्याय विभाग (डीओजे) लाई यस विषयमा गहिरो अनुसन्धान गर्न र दोषी अधिकारीहरूमाथि आपराधिक मुद्दा दर्ता गर्न निर्देशन दिएका छन्। उनले वर्तमान एफबीआई डाइरेक्टर कास पटेललाई मिसिगनमा मतदाता दर्तामा भएको कथित धाँधलीको पूर्ण अनुसन्धान गरी दोषीमाथि कारबाही अघि बढाउन भनेका छन्।
मिडियाप्रति आक्रोश
सम्बोधनको क्रममा ट्रम्पले मिडियामाथि पनि आक्रोश पोखे। प्रमुख अमेरिकी टेलिभिजन नेटवर्कहरू एनबीसी र एबीसीले आफ्नो सम्बोधन प्रत्यक्ष प्रसारण नगरेको भन्दै उनले कडा आपत्ति जनाए। उनले मिडियाको एउटा तप्का चुनावी धाँधली लुकाउने षड्यन्त्रमा सामेल भएको र जनताको विश्वास तोड्ने मिडियाको ब्रोडकास्ट लाइसेन्स खारेज हुनुपर्ने चेतावनी दिए। ट्रम्पले अमेरिकी चुनावी प्रणालीप्रति जनताको विश्वास टुटिसकेको भन्दै अमेरिकालाई विश्वकै सबैभन्दा सुरक्षित, निष्पक्ष र पारदर्शी चुनावी प्रणाली आवश्यक रहेको बताए।
यद्यपि ट्रम्पले गम्भीर आरोपहरू लगाए पनि अमेरिकी सञ्चारमाध्यम र अघिल्ला अनुसन्धानहरूले यी दाबीहरूलाई पूर्ण रूपमा पुष्टि गरेका छैनन्। न्युयोर्क टाइम्सको रिपोर्टमा ट्रम्पले लगाएका आरोपहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन। सार्वजनिक गरिएका कागजातहरूले मात्र उनका सबै दाबीहरूलाई स्पष्ट रूपमा प्रमाणित गर्दैनन्। २०२० को चुनावपछि गरिएका धेरै अडिट, पुनर्गणना र ६० भन्दा बढी अदालती सुनुवाइहरूमा व्यापक चुनावी धाँधलीको कुनै ठोस प्रमाण भेटिएको थिएन। विज्ञहरूका अनुसार मतदाताको डाटा चोरी हुनु र भोटिङ मेसिन ह्याक गरेर चुनावको नतिजा नै बदल्नु दुई नितान्त फरक कुरा हुन्। डाटा चोरीले दुष्प्रचार फैलाउन मद्दत गर्न सक्छ, तर यसले भोट नै परिवर्तन गरेको कुनै प्रमाण छैन। अमेरिकी खुफिया एजेन्सीहरूले २०२१ मा जारी गरेको आधिकारिक रिपोर्टअनुसार रुस, चीन र इरानले अमेरिकी जनमतलाई प्रभावित पार्ने प्रयास पक्कै गरेका थिए, तर कुनै पनि विदेशी राष्ट्रले भोटिङ मेसिन वा मतगणना प्रणालीमा छेडछाड गरेको थिएन।


